Kathmandu Press

काठमाडौं–५ : कांग्रेसको विरासत फिर्ता गर्न पौडेललाई कति सहज ? 

०७० सम्म काठमाडौं–५ मा कांग्रेसको बलियो प्रभाव थियो । ०७४ मा वाम गठबन्धनको बलले एमालेका इश्वर पोखरेलले कांग्रेसको विरासत तोडेका थिए । गुमेको विरासत फिर्ता गर्न कांग्रेसका युवा नेता प्रदीप पौडेल एमालेका इश्वर पोखरेलसँग प्रतिस्पर्धामा छन्।
काठमाडौं–५ : कांग्रेसको विरासत फिर्ता गर्न पौडेललाई कति सहज ? 
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक २७ : प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले समेत हारेको ०६४ को निर्वाचनमा काठमाडौं–५ बाट कांग्रेसका नरहरी आचार्यले सनसनीपूर्ण जित निकाले । लगत्तै ०७० को चुनावमा पनि आचार्य सोही क्षेत्रबाट निर्वाचित भए। यी दुबै निर्वाचनमा आचार्यले एमालेका इश्वर पोखरेललाई पराजित गरेका थिए । यसरी हेर्दा ०७० सम्म यहाँ कांग्रेस बलियो रहेको पुष्टि हुन्छ । 

०७४ मा आचार्य चुनावी मैदानबाट बाहिरिए । टुक्राटुक्रा भएर कमजोर बनेको माओवादी र एमाले एउटै पार्टी बन्ने उद्धेश्यका साथ बाम गठबन्धन बनाएर चुनावमा होमिएपछि कांग्रेसले आफ्नो वर्चश्व रहेको काठमाडौं–२ गुमायो । त्यतिबेला कांग्रेस नेता प्रकाशशरण महतलाई एमालेका इश्वर पोखरेलले करिब १० हजार  मतान्तर ( पोखरेल : २३०२९, महत : १३१६९) ले पराजित गरेका थिए। 

अहिले वाम गठबन्धन हुँदै बनेको नेकपा फुटेर तीन टुक्रा भएको छ ।त्यतिमात्रै होइन पूर्ववत् अवस्थामा आएको माओवादी केन्द्र र एमालेसँग फुटेर बनेको एकीकृत समाजवादीले अहिले कांग्रेससँग गठबन्धन बनाएर चुनावमा होमिएको छ । बदलिँदो राजनीतिक परिस्थितिका बीच मंसिर ४ गते हुन गइरहेको संघीय निर्वाचनमा इश्वर पोखरेल पुनः काठमाडौं–५ मा एमालेका उम्मेदवार छन्। अघिल्लो निर्वाचनताकाका  पोखरेल र हालका पोखरेलमा राजनीतिक हैसियत फेरिएको छ । 

पोखरेल अहिले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष छन् । अर्थात् पार्टीभित्र भैपरी आउँदा उनी नै ओलीका पहिलो विकल्प हुन् । यही निर्वाचनमा पनि कथमकदाचित ओली पराजित भएर पोखरेल निर्वाचित भएभने संसदीय दलका नेता पोखरेल चुनिने छन् । यस कारण  पनि पोखरेलले यसपालि पनि चुनाव जित्न सक्ने बलियो सम्भावना रहन्छ ।

तर, उच्च राजनीतिक हाइटका बाबजुद पोखरेललाई यसपालिको चुनाव जित्न त्यति सहज हुनेछैन । यसपालि कांग्रेसका युवा नेता प्रदीप पौडेल उनका प्रतिस्पर्धी छन् । पौडेल एमालेबाट फुटेका पोखरेलकै सहयात्री र माओवादी केन्द्रसहित सत्ता गठबन्धनको साझा उम्मेदवार हुन्।

तनहुँमा कांग्रेसको त्रिपक्षीय शक्ति संघर्ष (देउवा, पौडेल, सिटौला)को चेपुवामा परेका पौडेललाई परिस्थितिले एमालेको हेभिवेटसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा ल्याएको हो । 

अघिल्लो निर्वाचनमा तनहुँ–२ को प्रदेशसभा सदस्यमा माओवादी उम्मेदवार आशा कोइरालासँग झिनो मतान्तर(५ मत) ले पराजित भएका  पौडेल यसपटक तनहुँबाटै प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्न चाहन्थे । क्षेत्रीय समितिले उनको नाम पनि सिफारिस गरेको थियो । तर, त्यहाँ सभापति शेरबहादुर देउवा निकट शंकर भण्डारीले टिकट पाएपछि पौडेल काठमाडौंबाट चुनाव लड्न लागेका हुन् । 

पौडेलले पनि चार वर्षको अन्तरालमा आफ्नो राजनीतिक हैसियत बढाएका छन् । उनी पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार रहँदै पराजित भएका थिए । उनलाई कांग्रेसको एउटा खेमाको नेतृत्व गरिरहेका कृष्ण सिटौलाले आफ्नो समूहको अबका नेताका रुपमा प्रस्तुत गरिसकेको छ । 

यी दुई हेभिवेट आमनेसामने हुँदा काठमाडौं–२ को निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ भने दुबैको सम्भावनालाई लिएर विभिन्न आकलन भइरहेका छन् । 

दलगत रुपमा यस क्षेत्रमा एमाले बलियो अवस्थामा छ । राजनीतिक हैसियत र एमालेको बलियो संगठन तथा मतदाता नै पोखरेलले जित्ने मुख्य आधार हुन् । एमाले नेतृत्वको सरकार रहँदा भएका लोकप्रिय कामलाई पोखरेलले चुनावी हतियार बनाएका छन् । चुनावी प्रचारप्रसारमा उनी आफ्नो विजय सुनिश्चित रहेको अभिव्यक्ति दिँदै आएका छन् । 

पोखरेलका अगाडि सम्भावनासँगै चुनौती पनि छन् । पार्टीका वैकल्पिक नेतृत्वका रुपमा रहेका उनलाई पार्टीबाटै अन्तर्घात हुनसक्ने डर छ । ओली नेतृत्वको सरकारमा मन्त्री हुँदा विभिन्न विवादमा मुछिएको कारण अहिलेको चुनावमा त्यसको प्रत्यक्ष प्रभाव पर्ने आकलन भइरहेका छन् । 

गठबन्धनका पाँच दलको समर्थन पाउँदा पौडेल पनि सहज अवस्थामा देखिन्छन् । यहाँ कांग्रेसको पनि बलियो जनाधार छ ।कांग्रेसभित्र चर्चा पाइरहने र संसदीय फाँटमा प्रवेश नपाएका पौेडेल काठमाडौंका मतदाताका लागि नयाँ विकल्प हुनसक्छन् ।

उनका अघिल्तिर पनि चुनौती नभएको होइन । काठमाडौंमा उनी आमन्त्रित उम्मेदवार हुन् । एमालेका पोखरेल ०६४ देखि अहिलेसम्म सोही क्षेत्रबाट उम्मेदवार रहँदै आएका छन् । काठमाडौंका मतदाताले जिल्ला बाहिरका उम्मेदवारलाई नपत्याउन सक्ने प्रबल सम्भावना रहन्छ। अर्कोतिर पौडेललाई पनि गठबन्धनबाट अन्तर्घात हुने सम्भावना रहन्छ । 

पोखरेल र पौडेलबीचको भिडन्तमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणय शमशेर राणा र स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनाले पनि आफूलाई बलियो प्रतिस्पर्धीका रुपमा प्रचार गरिरहेका छन् । पछिल्लो समय सञ्चारकर्मी हुँदै राजनीतिमा हामफालेका रवि लामिछानेप्रतिको आकर्षणका कारण राणाले पनि केही मत पाउने देखिन्छ । ०७४ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएर राम्रो मत पाएकी थिइन् । यसपालिको संसदीय निर्वाचनमा दर्शनाले पनि राम्रै मत पाउने आकलन गरिएको छ । 

पोखरेल र पौडेलवाहेक काठमाडौं–५ मा अन्य दलका १३ र १४ स्वतन्त्र उम्मेदवार छन् । ती उम्मेदवारहरुले जित्न नसकेपनि दुई हेभिवेटले पाउने मतमा भने प्रभाव पार्न सक्छन् । उम्मेदवारको संख्या र पोखरेल भर्सेस पौडेलको भिडन्तले यहाँको निर्वाचनलाई रोचक बनाएको छ । 

स्थानीय तहमा एमाले बलियो 

पार्टीका उम्मेदवारको जित÷हारमा दलको प्रभावले महत्वपूर्ण भूमिका खेल्छ । स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको एकीकृत मतका आधारमा यहाँ एमाले बलियो देखिन्छ । एमालेले यस क्षेत्रमा पर्ने विभिन्न १५ वडाहरुमा १९ हजार ७३ मत ल्याएको छ । त्यस्तै कांग्रेसको १४ हजार ८५३, माओवादी केन्द्रको १ हजार १६८, एकीकृत समाजवादीको  १ हजार ८२७ र  राप्रपाको २ हजार ६२२ मत छ ।

यसरी हेर्दा गठबन्धनको एकीकृत मत १७ हजार ८४८ पुग्छ । यो एमालेले पाएको भन्दा १ हजार २२४ कम हो । स्थानीय निर्वाचनको वडाध्यक्षले पाएको मतअनुसार पोखरेल नै बलियो देखिन्छन् तर, संघीय निर्वाचनमा स्थानीय निर्वाचनको मतमात्रै जितको आधार बन्न सक्दैन । 

याे पनि

काठमाडौं–१ : चौथो जितको दाउमा रहेका सिंहलाई मिश्र र कँडेल चुनौती 

काठमाडौं–२ : एमालेका स्थानीय उम्मेदवारसँगको प्रतिस्पर्धामा ओनसरी कति सुरक्षित ?

काठमाडौं–४ : गठबन्धनले गगन ढुक्क, एमालेकै गढमा राजन असुरक्षित

प्रकाशित मिति: १२:२१ बजे, आइतबार, कात्तिक २७, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्