काठमाडौं–१ : चौथो जितको दाउमा रहेका सिंहलाई मिश्र र कँडेल चुनौती
राप्रपाको उपाध्यक्ष हैसियतले चुनावमा होमिएका मिश्रले यसपाली अघिल्लो निर्वाचनमा पाएको तुलनामा निकै कम मत ल्याउने आँकलन गरिएको छ । यसपालि गठबन्धनसमेतको समर्थनका कारण सिंह सहज अवस्थामा रहेको बताइन्छ।
काठमाडौं, कात्तिक २४ : ०७४ मंसिरमा काठमाडौं–१ को प्रतिनिधिसभातर्फको मतगणना हुँदै गर्दा सनसनी मच्चिएको थियो । कारण, त्यहाँ ०६४ देखि लगातार जित्दै आएका कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई तत्कालीन विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले टक्कर दिइरहेका थिए ।
राजनीतिक दलप्रति जनताको वितृष्णा बढिरहेको बेला सिंहलाई आफ्नो विरासत जोगाउन हम्मेहम्मे परेको थियो । त्यतिबेला उनी ८ सय मतान्तरले मात्रै विजयी भएका थिए ।
यसपालि पनि सिंह र मिश्र प्रतिद्वन्द्वीका रुपमा मैदानमा छन् । तर, अहिले ०७४ भन्दा विल्कुलै भिन्न राजनीतिक माहोल छ । सिंह कांग्रेसका मात्र होइन पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । मिश्र पनि वैकल्पिक राजनीतिक धारको विगुल फुकिहिँड्ने ०७४ का मिश्र होइनन् । उनी अहिले जनताले नै फालेको राजसंस्थालाई पुनस्थापना गर्ने एजेन्डासहित राप्रपा उपाध्यक्षको हैसियतमा चुनावी मैदानमा छन् ।
यी दुईको प्रतिस्पर्धामा एमालेका किरण पौडेलले पनि आफूलाई बलियो उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, नेपाल सुशासन पार्टीका रमेश खरेल र किरण पौडेल लगायतका उम्मेदवारले आफूलाई बलियो ढंगले उभ्याएका छन् । त्यसकारण सो क्षेत्रको चुनावी भीडन्त निकै रोचक हुने भएको छ।
मिश्र अघिल्लो निर्वाचनमा कांग्रेसका सिंहसँग ८ सय मतले मात्रै पराजित भएका थिए । १० हजार ९३६ मत ल्याएर सिंह विजयी हुँदा मिश्रले १० हजार ११८ मत पाएका थिए। अन्यत्रका तुलनामा काठमाडौंका जनताहरु सचेत भएका कारण मिश्रले अघिल्लो पटक जस्तो लोकप्रिय मत प्राप्त गर्न नसक्ने जानकारहरु बताउँछन् ।
केही महिनाअघिसम्म उनले नेतृत्व गरेको पार्टीमा आएका विवाद र फुटका कारण मिश्रकाे नेतृत्व क्षमतालाई लिएर विभिन्न प्रश्न र आलोचना सुनिन्थ्याे । राजनीतिमा पाइला चाल्दै गर्दा देखाएका सपनालाई बिर्सिएर मिश्र केही समयअघि मात्रै राप्रपा प्रवेश गरेका थिए ।
चुनावी घरदैलो अभियानमा रहेका मिश्र विकासका एजेन्डाभन्दा राप्रपामा आफ्नो प्रवेशका विषयमा जनतालाई बुझाउनुपर्ने वाध्यतामा छन् । त्यसकारण पनि यसपालि काठमाडौं–१ मा प्रकाशमानको टक्कर एमालेका पौडेलसँग हुने र मिश्र तेस्रो स्थानमा रहने चर्चा सुनिन्छ ।
कांग्रेसका सिंह अघिल्लो निर्वाचनमा भन्दा केही सहज अवस्थामा देखिन्छन् । कांग्रेस एक्लै लड्दासमेत जितेका सिंहलाई अहिले माअोवादी केन्द्र, एकीकृत समाजवादी सहित सत्ता गठबन्धनका पाँच दलको समर्थन छ । यस हिसाबमा मिश्रलाई पहिलेकै जस्तो मत ल्याउन निकै कठिन देखिन्छ। गएको स्थानीय निर्वाचनको परिणाम हेर्दा पनि यहाँ गठबन्धन नै अगाडि देखिन्छ ।
काठमाडौं–१ मा महानगरका चारवटा वडा १०, ११, २९ र ३१ समेटिएका छन् । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा वडाध्यक्ष र वडाध्यक्षका उम्मेदवारहरूले प्राप्त मतलाई आधार मान्दा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेसले ९ हजार ८ सय ९५ ल्याउँदा एमालेले ९ हजार ५ सय ४१ ल्याएको थियो। माओवादी केन्द्रले ११ सय ५९, राप्रपा नेपालले ११ सय ४९ र विवेकशील साझाले २ सय ७३ मत आफ्नो पक्षमा पारेका थिए ।
काठमाडौं–१ बाट सिंह चौथोपटक जित्ने दाउमा छन्। ०७४ को निर्वाचनमा जितको ‘ह्याट्रिक’ निकालेका उनी ०६४ मा सम्पन्न पहिलो संविधानसभा र २०७० मा सम्पन्न दोस्रो संविधानसभामा काठमाडौं–१ बाट निर्वाचित भएका थिए ।
काठमाडौं–१ ले कांग्रेसलाई धेरैपटक अप्रत्यासित परिणाम दिए पनि प्रकाशमानले उक्त परिस्थितिलाई बदलिदिएका जानकारहरु बताउँछन् । ०४८ को निर्वाचनमा तत्कालीन पार्टीका कार्यवाहक सभापति तथा प्रधानमन्त्रीसमेत रहेका कृष्णप्रसाद भट्टराई पराजित भएका थिए। ०५६ को निर्वाचनमा पनि भट्टराई सोही क्षेत्रमा पराजित भएका थिए । त्यतिबेला उनले एक हजार मत पनि कटाउन नसक्दा कांग्रेसको जमानत नै जफल भएको थियो । प्रकाशमान ले नै त्यहाँ कांग्रेसको विरासत जोगाएका कारण यसपालि गठबन्धनको थप बल लिएर उनी पुनः निर्वाचित हुने सम्भावना प्रबल रहेको जानकारहरु बताउँछन् ।
सिंहकाे राजनीतिक विरासत गणेशमान सिंहसँग जोडिन्छ । लौह पुरुष भनेर चिनिने गणेशमानका पुत्र र काठमाडौं–१ बाटै संसदीय राजनीतिमा उदायका कारण प्रकाशमानलाई हराउन सक्ने उम्मेदवार नै नभएको विश्लेषण हुँदै आएकोमा यसपालि भने उनलाई टक्कर दिन युवा उम्मेदवार पनि मैदानमा छन् । रवीन्द्र मिश्रसँगै एमालेका ४१ वर्षीय किरण पौडेल पनि सिंहका बलिया प्रतिस्पर्धी मानिन्छन् । पहिलोपटक संसद्मा प्रवेश गर्ने प्रयासमा रहेका पौडेल एमाले युवा संघका अध्यक्ष हुन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रभावशाली मानिएका युवा नेता पुकार बम पनि सोही क्षेत्रमै प्रतिस्पर्धा गर्दैछन् । स्थानीय निर्वाचनलगत्तै बमले काठमाडौं–१ को उम्मेदवारका रुपमा घरदैलो र प्रचारप्रसार गर्दै आएका छन् । नेपाल प्रहरीमा हुँदा सनसनी मच्चाएका पूर्वडिआइजी रमेश खरेल पनि सोही क्षेत्रका उम्मेदवार हुन् । भ्रष्टाचार नियन्त्रण गर्ने भन्दै सुशासन पार्टी खोलेर राजनीतिमा होमिएका उनले पनि ठुला दलको भोट काट्ने पक्का देखिन्छ ।
त्यहाँ नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट ६२ वर्षीय हरिशरण श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट ४४ वर्षीय प्रकाश नायजु, जनमत पार्टीबाट ३५ वर्षीय हरेन्द्र चौधरी, मौलिक जरोकिलो पार्टीबाट प्रकाश श्रेष्ठलगायतले उम्मेदवारी दिएका छन्। स्वतन्त्रबाट गोमा खतिवडा अधिकारी, सुनिता बसेल, खुमकला लामिछाने, संगिता बोगटी, दुर्गा प्रसाद लिम्बू, कुलबहादुर तामाङ, निर्जल शाह, मीरा विष्ट, देव शर्मा, संगीता राजवाहक, सीता तामाङ (केसी) काठमाडौं १ बाट लड्दैछन् ।












