Kathmandu Press

काठमाडौं–२ : एमालेका स्थानीय उम्मेदवारसँगको प्रतिस्पर्धामा ओनसरी कति सुरक्षित? 

दलगत हिसाबमा एमालेको बलियो प्रभाव रहेको क्षेत्र मानिने यस क्षेत्रमा एमालेले स्थानीय नेतालाई उम्मेदवार बनाएर ओनसरीका अघिल्तिर चुनौती खडा गरेको छ ।
काठमाडौं–२ : एमालेका स्थानीय उम्मेदवारसँगको प्रतिस्पर्धामा ओनसरी कति सुरक्षित? 

काठमाडौं, कात्तिक २५ : मुलुकभर माओवादीको दबदबा कायम छँदा ०६४ मा सम्पन्न संविधानसभाको निर्वाचनमा रोल्पाका  झक्कुप्रसाद सुवेदीले काठमाडौंबाट चुनाव जिते। एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई पराजित गर्दै सुवेदी काठमाडौं–२ बाट संविधानसभाको सदस्य निर्वाचित भएका थिए। 

त्यसयता देशमा तीन पटक संसदीय निर्वाचन सम्पन्न भयो। तीनैपटक यहाँका मतदाताले काठमाडौं बाहिरका उम्मेदवारलाई विजयी गराएर पठाए। ०६४ को हारलाई उल्ट्याउँदै ०७० को दोस्रो संविधान सभा र ०७४ को प्रतिनिधि सभा निर्वाचनमा एमालेका तत्कालीन नेता माधवकुमार नेपाल विजयी भए। उनको गृहजिल्ला रौतहट हो। अहिले उनी गृहजिल्लाबाटै चुनाव लड्दै छन्। 

यसपालि रोल्पाकै ओनसरी घर्ती काठमाडौं–२ बाट प्रतिनिधि सभा सदस्यका लागि लोकतान्त्रिक वाम गठबन्धनकी साझा उम्मेदवार छिन्। ०६४ मा समानुपातिकबाट सांसद बनेकी ओनसरी ०७२ मा रोल्पाबाट निर्वाचित भएकी थिइन्। 

Hardik ivf

तीन पटकसम्म काठमाडौं बाहिरकै उम्मेदवारले जित्दै आएको काठमाडौं–२ मा यसपालि पनि जिल्लाबाहिरकै उम्मेदवारले जित्ने सम्भावना रहेको चर्चा चल्न थालेका छन्। ओनसरीलाई माओवादी सहित नेपाली कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादीका नेता कार्यकर्ताले र समर्थकले मत दिने हुँदा काठमाडौं–२ ले जिल्लाबाहिरकै नेतालाई आफ्नो प्रतिनिधिका रुपमा संसद पठाउने बलियो सम्भावना रहेको छ।

त्यसो त ओनसरी दलको एक सामान्य उम्मेदवार मात्रै होइनन्। मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान जारी भएपछि दुई वर्ष (०७२ देखि ०७४ सम्म) उनी सभामुख बनेकी थिइन्  । देशकै पहिलो महिला सभामुख र माओवादी केन्द्रकी स्थायी कमिटी सदस्यको उच्च राजनीतिक छवि लिएर उनी यतिबेला चुनावी घरदैलो अभियानमा छिन्। 

तर, माओवादी र गठबन्धनका नेता कार्यकर्ताले दाबी गरेजस्तो ओनसरीलाई यसपालि जित्न त्यति सहज भने देखिँदैन। दलगत हिसाबमा एमालेको बलियो प्रभाव रहेको क्षेत्र मानिने यस क्षेत्रमा एमालेले स्थानीय नेतालाई उम्मेदवार बनाएर ओनसरीका अघिल्तिर चुनौती खडा गरेको छ।तीन पटकसम्म ‘टुरिस्ट’ उम्मेदवारलाई जिताएर पठाएको काठमाडौं–२ का वासिन्दाको मनोविज्ञान बुझेरै एमालेले यहाँ मणिराम फुँयाललाई टिकट दिएको छ। फुँयाल यसअघिका प्रदेशसभा सदस्य हुन्।

निवर्तमान प्रदेश सभा सदस्यको हैसियत, स्थानीय उम्मेदवार, एमालेको बलियो संगठन र स्थानीय निर्वाचनमा प्राप्त मत नै फुँयालले जित्ने बलिया आधार हुन्। त्यस्तै ६४ पछि यस क्षेत्रमा लगातार एमालेले जित्दै आएको हुनाले पनि यहाँका मतदाताले एमालेलाई रुचाउने कार्यकर्ताहरु बताउँछन्। 

तर, एमालेबाट जित्दै आएका माधव नेपाल अहिले सत्ता गठबन्धनमा छन्। उनी उम्मेदवार नहुँदा अघिल्ला दुई निर्वाचनसम्म एमालेको पक्षमा खसेको केही प्रतिशत मत गठबन्धनको पक्षमा आउने जानकारहरु बताउँछन्। यसका बाबजुद एमालेको केही लोकप्रिय काम तथा अहिलेको नीति र एजेन्डालाई लिएर आक्रामक रुपमा घरदैलोमा रहेका फुँयाल ओनसरीका लागि चुनौती साबित हुने चर्चा राजनीतिक वृत्तमा सुनिन्छ। 

स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मत विश्लेषण गर्दा फुँयालले जित्न एमालेका सबै भोट उनले पाउनुपर्छ। साथै गठबन्धन र तटस्थ मतदातालाई आफ्नो पक्षमा पार्न थप मिहिनेत गर्नुपर्ने देखिन्छ।

स्थानीय निर्वाचनलाई मात्र आधार मान्दा यहाँ गठबन्धन नै बलियो देखिन्छ। दलगत हिसाबमा सबैभन्दा बढी मत एमालेले पाएको छ। यस क्षेत्रमा माओवादी केन्द्र  एकीकृत समाजवादी र राप्रपाभन्दा पनि कमजोर देखिन्छ। 

यहाँ एमालेले १७ हजार ३२८, कांग्रेसले १४ हजार १२८ मत पाउँदा माओवादी केन्द्रले ३ हजार १३१ मत मात्र ल्याएको छ। माओवादी भन्दा बलियो देखिएको एकीकृत समाजवादीले ७ हजार ९११ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ हजार २ सय मत पाएको छ। 

यसरी हेर्दा कांग्रेससहितको लोकतान्त्रिक वाम गठबन्धनको पक्षमा २५ हजार १७० मत छ। केही मत तलमाथि भएपनि गठबन्धनको पक्षमा रहेको यो मत ओनसरीको जितका लागि पर्याप्त देखिन्छ। 

घर्ती र फुँयालबीचको प्रतिस्पर्धामा राप्रपा उम्मेदवार कुन्तीदेवी पोेखरेल पनि चुनावी परिणामलाई उलटफेर पार्न सक्नेछिन्। राजेन्द्र लिङ्देन  र रवीन्द्र मिश्रको आगमनसँगै राप्रपाको बढ्दो लोकप्रियताको असर काठमाडौंमा पर्न सक्नेछ। स्थानीय निर्वाचनमा राप्रपाले पाएको मतले पनि त्यसलाई पुष्टि गर्छ। पोखरेलले जित्ने सम्भावना न्यून भएपनि गठबन्धन र एमालेले पाउने मतलाई प्रभाव पार्न सक्ने आकलन गरिएको छ।

काठमाडौंका अन्य क्षेत्रजस्तै २ मा पनि स्वतन्त्र उम्मेदवारको बाक्लो सहभागिता देखिन्छ। दल र नेतामाथि बढ्दो वितृष्णाका बीच चुनावी मैदानमा हामफालेका स्वतन्त्र उम्मेदवारप्रति काठमाडौंका मतदाता केही आशावादी देखिन्छन्। दलहरुको कार्यशैलीमाथि प्रश्न उठाउँदै उनीहरुका नराम्रा कामहरुलाई चुनावी हतियार बनाउँदै १० स्वतन्त्र उम्मेदवार काठमाडौं–२ को चुनावी मैदानमा छन्। काठमाडौं महानगरमा बालेनको जितसँगै स्वतन्त्र उम्मेवारप्रति आकर्षित भएका मतदाताबाट स्वतन्त्रले राम्रै मत पाउन सक्ने आकलन पनि गरिएको छ।

स्वतन्त्र उम्मेदवारले जित्ने सम्भावना न्यून रहेपनि दलले पाउने मत काट्न सक्नेछन्। यसरी हेर्दा गठबन्धनकी उम्मेदवार घर्ती र एमाले उम्मेदवार फुँयालबीचको चुनावी लडाईँ रोचक हुने देखिन्छ। 

याे पनि :

काठमाडौं–१ : चौथो जितको दाउमा रहेका सिंहलाई मिश्र र कँडेल चुनौती 

प्रकाशित मिति: ११:४३ बजे, शुक्रबार, कात्तिक २५, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्