Kathmandu Press

धादिङ-१ मा पाण्डे र त्रिपाठी : पहिले सहयात्री अहिले प्रतिस्पर्धी 

२०७४ सालको चुनावमा एकअर्काका लागि मत माग्दै हिँडेका राजेन्द्र पाण्डे र भूमि त्रिपाठी यसपालि एकअर्काका प्रतिद्वन्द्वी छन्।
धादिङ-१ मा पाण्डे र त्रिपाठी : पहिले सहयात्री अहिले प्रतिस्पर्धी 
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक ६ : धादिङ–१ मा करिब चार दशकदेखिका राजनीतिक सहयात्री यसपालिको निर्वाचनमा आमनेसामने हुँदैछन्। २०७४ सालको चुनावमा एकअर्काका लागि मत माग्दै हिँडेका राजेन्द्र पाण्डे र भूमि त्रिपाठी यसपालि एकअर्काका प्रतिद्वन्द्वी छन्।

प्रतिनिधिसभा सदस्यका लागि पाण्डे सत्ता गठबन्धनतर्फ  नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुन् भने एमालेले पुनः त्रिपाठीलाई नै मौका दिँदा धादिङ–१ को चुनावी भिडन्त रोचक हुने देखिएको छ। पाण्डे र त्रिपाठी दुवै मलेखुका बासिन्दा हुन्। 

२०३० सालदेखि राजनीति सुरु गरेका पाण्डे जिल्लामा प्रभावशाली नेता मानिन्छन्। जिल्लामा एमालेको संगठन विस्तार गर्न उनकोे भूमिका महत्वपूर्ण रह्यो। उनी एमालेका तर्फबाट २०४८, २०५१, २०५६ र २०७० सालमा सम्पन्न संसदीय निर्वाचनमा पनि विजयी भएका थिए ।

०७४ को निर्वाचनमा पनि पाण्डे संघमै उठ्न चाहन्थे । त्यतिबेला भूमि त्रिपाठीलाई संघमा ल्याउन एमालेले पाण्डेलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएको थियो । तर उनलाई मुख्यमन्त्री नबनाउन त्रिपाठीपक्षले नै लविङ गरेको चर्चा सुनिन्छ । एमाले विभाजन भएपछि मात्रै पाण्डे बाग्मतीका मुख्यमन्त्री बनेका थिए । 

यसपटक प्रदेश छाडेर संघमा जान लागेका पाण्डेमाथि मुख्यमन्त्री हुँदा जनताको पक्षमा भन्दा मुख्यमन्त्रीको कुर्सी जोगाउन जम्बो मन्त्रिमण्डल बनाएको आरोप छ। सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पाण्डेको व्यापक आलोचना पनि भयो। तर पाण्डेले भने मुख्यमन्त्रीका रूपमा आफू सफल भएको दाबी गर्दै आइरहेका छन्।

प्रदेशमै बसेको अवस्थामा पुनः मुख्यमन्त्री बन्न सहज नदेखिएपछि पाण्डे संघमा गएको जानकारहरू बताउँछन्। धादिङ २ (ख) मा सत्तागठबन्धनका उम्मेदवार सालिकराम जम्मकट्टेल यसपटक मुख्यमन्त्री बन्ने दौडमा छन्। सोहीअनुसारको सहमति गरेर पाण्डेलाई प्रतिनिधिसभाको उम्मेदवार बनाइएको आकलन छ। 

२०३७ सालमा विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्राको थालनी गरेका त्रिपाठी भने २०६४ पछि मात्रै पूर्णकालीन राजनीतिमा सक्रिय भए। पेसाले कानुन व्यवसायीसमेत रहेका उनी कानुनसम्बन्धी काम गर्ने गैरसरकारी संस्थाहरूमा सक्रिय थिए। उनी २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भए। त्यतिबेला उनले वाम गठबन्धनबाट ४९ हजार १२१ मत ल्याएका थिए।  

एमालेमा रहँदा पाण्डे माधव नेपाल खेमामा थिए। पार्टीमा केपी ओलीको उदयसँगै त्रिपाठी ओली खेमामा पुगेपछि जिल्लामा पनि दुवैजना आ–आफ्नो समूह बनाएर राजनीतिक गतिविधिमा सक्रिय रहे। जिल्लामा एक्लाएक्लै लडेको अवस्थामा एमाले बलियो पार्टी भए पनि त्रिपाठीलाई यसपटक सत्ता गठबन्धनको चुनौती छ। एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका पाण्डे र सोही पार्टीका प्रभावशाली नेताहरू जिल्लामा रहँदा त्रिपाठीमाथि चुनौती बढेको बताइन्छ। 

स्थानीय निर्वाचनमा जस्तै एकीकृत समाजवादीले एमालेको भोट काट्ने अवस्था र कांग्रेस माओवादीको भोट पनि पाण्डेलाई प्राप्त हुने हुँदा त्रिपाठीभन्दा पाण्डे सहज अवस्थामा छन्। ‘धादिङमा एमालेका ९० प्रतिशत नेताकार्यकर्तालाई प्रशिक्षण, पार्टी सदस्यता दिएको हुँदा उनीहरुको श्रद्धा र माया आफूप्रति कायम रहने पाण्डे बताउँछन्। कांग्रेस र माओवादीको मत लिएर ठुलो मतान्तरले निर्वाचित हुनेमा उनी विश्वस्त देखिन्छन्। 

संविधानको मर्ममाथि प्रहार गरेर एमालेले मुलुकलाई खतरामा पारेको कुरामा जनता पनि अवगत भएका कारण अहिले एमालेले कुनै हालतमा नजित्ने पाण्डेको भनाइ छ। चुनावी घरदैलो र प्रचारप्रसारका क्रममा जनतालाई त्यसबारे थप सचेत बनाइने उनले बताए। ‘संविधान र संघीयताको रक्षाका लागि हामीले विद्रोह ग¥यौं। लोकतन्त्र र संविधानलाई मजबुत बनाउन फेरि हामीलाई मत दिनुस् भनेर जनतासमक्ष जान्छौं,’ उनले भने। 

यता त्रिपाठी पनि आफ्नो जित सुनिश्चत रहेको बताउँछन्। त्यति मात्रै होइन, यस निर्वाचनबाट एकीकृत समाजवादीले राष्ट्रिय पार्टीको मान्यता नपाउने समेत उनको दाबी छ। पाण्डे पटकपटक निर्वाचित भएर पनि काम नगर्ने व्यक्तिका रुपमा परिचित भएको उनको आरोप छ। जनताले व्यक्तिगत रूपमा पाण्डे भन्दा आफूमाथि भरोसा राख्ने उनले बताए  

‘तिसौं वर्षसम्म पटकपटक परीक्षित भइसकेका तर काम गर्न नसकेका व्यक्ति हुन् पाण्डे। टेस्टेड भइसकेका व्यक्तिलाई फेरि पनि जिताउने मूर्खता जनताले गर्दैनन्। उहाँले अवसर पाउन के बाँकी छ र? आम मतदाताले उनलाई रेस्पोन्स गरिरहेका छैनन्,’ उनले भने।  स्थानीय निर्वाचनको मतपरिणामलाई आधारमा संघीयन निर्वाचन परिणाम आकलन गर्न हास्यास्पद हुने उनको भनाइ छ। आफूले संसद् हुँदा गरेको कामहरुबाट मतदाताहरु प्रभावित भएका र पुनः जिताउनेमा विश्वस्त रहन आग्रह गरेको त्रिपाठी बताउँछन्।

यसपटक पाण्डे र त्रिपाठीबीचको प्रतिस्पर्धामा दशकौंदेखि उनीहरूकै सहकर्मी पनि थपिएका छन्। झन्डै चार दशक वामन्थी राजनीति गरेका उत्तम कँडेलले पनि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। उनी पनि मलेखुकै स्थानीय हुन् र एमालेमै रहेर पाण्डे र त्रिपाठीसँगै राजनीति गरेका थिए। 

uttam kandel1666528084.jpg

उत्तम कँडेल

आगामी संघीय निर्वाचनमा कँडेलले पाण्डे र त्रिपाठीको भोट काट्ने जानकारहरू बताउँछन्। नेकपा एमालेबाट जिल्ला विकास समितिको उपसभापति बनेका कँडेल २०७५ सालतिर माओवादी प्रवेश गर्दै जनयुद्धमा होमिएका थिए। माओवादी शान्तिप्रक्रियामा आएपछि उनी डा. बाबुराम भट्टराई नेतृत्वको सरकार बनेपछि कृषि सामग्री कम्पनी लिमिटेडको अध्यक्ष भएका थिए। 

लिमिटेडको अध्यक्षबाट हटेपछि उनी राजनीतिबाट बाहिरिएका थिए। अहिले पाण्डे र त्रिपाठीविरुद्ध कँडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यी तिन पूर्वसहकर्मीसँग प्रतिस्पर्धा गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले कमेडियन हिमेश पन्तलाई उम्मेदवार बनाएको छ। पार्टीका नेताहरुको कार्यशैलीबाट आजित भएका युवाहरुले सामाजिक सञ्जालमार्फत पन्तलाई मत दिनुपर्ने बताउँदै आएका छन्। यद्यपि उनको सम्भावना भने अत्यन्त न्यून देखिन्छ।

स्थानीय तहमा गठबन्धन बलियो 

धादिङ –१ का ६ स्थानीय तहमध्ये वैशाख ३० को निर्वाचनमा एमालेले गल्छी र थाक्रे गाउँपालिकामा मात्रै अध्यक्ष जितेको छ। बाँकी पाँच स्थानीय तहको नेतृत्वमा गठबन्धनकै वर्चस्व रहेको छ। 

स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा एमालेको ३७ हजार ७ सय ७८, माओवादीको २४ हजार ९ सय २५, कांग्रेसको १९ हजार ४ सय २३, एकीकृत समाजवादीको ८ हजार ८ सय ३६ र राप्रपाको १ हजार २ सय २२ मत छ ।

यसबाट जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रमा गठबन्धनको ५३ हजार १९३ र राप्रपासहितको मत जोड्दा विपक्षी गठबन्धनको ३९ हजार मत रहेको देखिन्छ। यस हिसाबमा पनि आफू राम्रो मतका साथ निर्वाचित हुने पाण्डेको दाबी छ। त्रिपाठी भने संघीय निर्वाचन स्थानीय तहको निर्वाचनजस्तो नहुने हुँदा जनमत आफ्नो पक्षमा रहेको दाबी गर्दै आइरहेका छन्। 

याे पनि :

 रामनाथ अधिकारी भर्सेस खेम लोहनी : धादिङ–२ मा कसको पल्ला भारी ? 
 

प्रकाशित मिति: १३:४० बजे, आइतबार, कात्तिक ६, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्