Kathmandu Press

रामनाथ अधिकारी भर्सेस खेम लोहनी : धादिङ–२ मा कसको पल्ला भारी? 

गठबन्धनबाट कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी अघिल्लो दुई हारलाई यसपटक जितमा बदल्न चाहन्छन् । एमालेका खेम लोहनी पुनः जितेर धादिङ–२ मा एमालेको राजनीतिक विरासत जोगाउने प्रयत्नमा छन्।
रामनाथ अधिकारी भर्सेस खेम लोहनी : धादिङ–२ मा कसको पल्ला भारी? 

काठमाडौं, कात्तिक १ : वैशाख ३० को स्थानीय निर्वाचनमा जिल्लाभर दुई पालिका मात्रै जितेपछि धादिङका एमाले नेताहरुको भनाई थियो– प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा देखाउँछौं । ०७० देखि जिल्लामा पहिलो र शक्तिशाली पार्टीको हैसियतमा रहेको एमालेलाई अकास्मात् ठूलो पराजय स्वीकार गर्न त्यति सहज भएन । 

‘एमालेको मतदाता घटेका छैनन्, बरु बढेको छ । त्यसको पुष्टि आउँदो संघीय निर्वाचनमा अवश्य हेर्नुहोला,’ एमाले धादिङका सचिव अर्जुन गोर्खालीले काठमाडौं प्रेससँगको टेलिफोन संवादमा भनेका थिए,‘भएभरका दल एमालेविरुद्ध लागे, त्यसका बाबजुद पनि दुई पालिका जितेका छौं, मंसिरमा देखाउँछौं एमालेको शक्ति ।’

गोर्खालीले भनेजस्तै धादिङको निर्वाचन परिणाम एमालेको पक्षमा आउँछ कि स्थानीय निर्वाचनमाजस्तै एमाले बढारिन्छ भन्ने प्रश्नको जवाफ पाउन मंसिर ४ सम्म कुर्नैपर्छ । धादिङमा एमाले र कांग्रेस पुरानै प्रतिस्पर्धी भएपनि यसपटक गठबन्धन र बदलिएको राजनीतिक गठजोडका कारण एमालेलाई चुनावी परिणाम आफ्नो पक्षमा पार्न ठूलै मिहिनेत गर्नुपर्ने देखिन्छ। 

पाँच दलीय सत्ता गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी (जसपा) र एमालेले केही जिल्लामा तालमेल गरेपनि धादिङमा त्यसको प्रभाव शून्यकरिब छ । सत्ता गठबन्धनबाट जिल्लाको दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्रनम्बर २ कांग्रेसको भागमा परेको छ । यहाँ जिल्ला सभापति रामनाथ अधिकारी प्रतिनिधि सभातर्फका उम्मेदवार छन् भने एमालेले यसअघिकै उम्मेदवार खेमप्रसाद लोहनीलाई निरन्तरता दिएको छ।

प्रदेशसभा (क) मा गठबन्धनबाट कांग्रेसका गोविन्द लम्साल र एमालेबाट डा. रामकुमार अधिकारी छन् भने (ख) मा गठबन्धनबाट माओवादी केन्द्रका जगत सिंखडा र एमालेको समर्थनमा राप्रपा उम्मेदवार डम्बर तामाङ लड्नेछन् । डा. अधिकारी र सिंखडा यसअघि पनि प्रदेश सांसद चुनिएका थिए । 

दुई पटकसम्म पराजित रामनाथको तेस्रो प्रयास 

गठबन्धनका उम्मेदवार अधिकारी धादिङका पुराना र प्रभावशाली राजनीतिज्ञ हुन् । उनीसँग चारपटकसम्म जिल्ला पार्टी हाँकेको अनुभव छ । प्रजातन्त्र पुनस्थापनाको लडाईमा पनि उनको महत्वपूर्ण योगदान रहेको जिल्लाका नेताहरु बताउँछन् । उनको योगदानलाई कदर गर्दै पार्टीले यसअघिका दुईपटकसम्मको निर्वाचनमा उम्मेदवार बनाएपनि पराजित भएका थिए । 

अधिकारीसँग धादिङ–२ बाट ०६४ र ०७० को निर्वाचनमा नमिठो हार व्यहोरेको अनुभव छ । दुईपटकसम्मको हार परिपूर्ति गर्न यसपटक गठबन्धन र पार्टीको बलियो साथ लिएर उनी निर्वाचनमा होमिएका छन् । 

त्यसो त धादिङ कांग्रेसभित्र पनि आन्तरिक द्वन्द्व नभएको होइन । मनोनयन दर्ताका दिन जिल्लाका पूर्वसभापति रमेश धमलाले स्वतन्त्र उम्मेदवारी दिएर अधिकारीलाई झड्का दिए । भोलिपल्ट पार्टीकै उम्मेदवारलाई सहयोग गर्ने प्रतिवद्धताका साथ उनले उम्मेदवारी फिर्ता भने लिए । उम्मेदवारी फिर्ता लिएपनि पार्टीको उम्मेदवारलाई सघाउने विषयमा संशय पैदा भएको छ । ४ मंसिरको निर्वाचनमा यसको असर देखा पर्नसक्ने नेताहरुको आकलन छ । कांग्रेस (बिपी)ले शंकर दर्जीलाई अधिकारीविरुद्ध उम्मेदवार बनाएको छ । यसबाट पनि केही मत काटिन सक्ने बताइन्छ। 

निर्वाचन क्षेत्र बाँडफाँटको विषयमा धादिङमा माओवादी केन्द्र केही असन्तुष्ट छ । प्रतिनिधि सभातर्फको दुईमध्ये एक निर्वाचन क्षेत्र माओवादीले पाउनुपर्ने माग पूरा नहुँदा माओवादी नेता कार्यकर्तामा देखिएको असन्तुष्टिले चुनावमा प्रत्यक्ष प्रभाव पार्न सक्ने त्रास पनि अधिकारीलाई छ। त्यसो हुन नदिन जिल्लास्तरीय नेताहरुले लगातार छलफल र बैठक गरिरहेका छन्। अधिकारी भन्छन्, ‘पार्टी र गठबन्धनभित्रको असन्तुष्ट पक्षसँग लगातार छलफल भइरहेको छ, सबैलाई मिलाएर लैजाने प्रयासमा छु।’

लोहनीको चुनौती : असन्तुष्ट कार्यकर्ता र बलिया प्रतिद्वन्द्वी  

२०७४ मा सम्पन्न आम निर्वाचनमा धादिङ–२ बाट लोहनी निर्वाचित भएका थिए । त्यतिबेला उनले  कांग्रेस उम्मेदवार दिलमान पाख्रिनलाई ९३७ मतले पराजित गरेका थिए । तत्कालीन समयमा लोहनी एमाले र माओवादी मिलेर बनेको वाम गठबन्धनका उम्मेदवार थिए । वामगठबन्धनका उम्मेदवार भएर पनि लोहनी सामान्य मतान्तरले विजयी भएका थिए । 

यतिबेला ०७४ का सहयात्री दलमात्रै उनको विपक्षमा छैनन् । एउटै पार्टीमा संगै काम गरेका नेताहरु सत्ता गठबन्धनमा छन्। यसर्थ अघिल्लो निर्वाचनबाट प्राप्त राजनीतिक विरासत जोगाउने होडमा रहेका लोहनीलाई आफ्नै पुराना मित्र तगारो बन्नेछन्।

लोहनी भने आफ्नो क्षेत्रमा एकीकृत समाजवादीको खासै प्रभाव नभएको बताउँछन् । ‘एमालेको जनाधार बढेको छ । गठबन्धनको थोरै डर हो, त्यसमा पनि हाम्रै पूर्वसहकर्मीहरुबाटै एमालेको केही भोट काटिन सक्ने आकलन गरेका छौं,’ लोहनीले भने । 

एकीकृत समाजवादीले काट्न सक्ने मतको परिपूर्ति राप्रपाबाट हुने लोहनीको दाबी छ । ‘त्यसकारण हामीले राप्रपासँग तालमेल गर्ने निर्णय गरिसकेका छौं । काटिन सक्ने मतभन्दा कैयौं बढी भोट राप्रपाबाट आउँछ,’ उनले भने । तटस्थ मतलाई आफ्नो पक्षमा ल्याउन निर्वाचन क्षेत्रमा तीव्र प्रचारप्रसार र जनताको घरदैलोमा जाने क्रम सुरु भइसकेको उनी बताउँछन्।

त्यसो त लोहनीमाथि यसअघि सांसद हुँदा जिल्लाको विकासका लागि खासै काम नगरेको आरोप उनकै कार्यकर्ताहरुले लगाउँदै आएका छन् । ‘ जिल्लामा आवश्यकताहरु धेरै छन् तर सिमित स्रोतसाधनका कारण धेरै काम गर्न सकिएन, यसबारेमा कार्यकर्ताहरु जानकार छन्,’ लोहनीले भने ।  

उत्तरी धादिङमा राम्रो प्रभाव भएको राप्रपालाई आफ्नो पक्षमा पार्न एमालेले २(ख)बाट आफ्नो उम्मेदवार नै फिर्ता गरेको थियो । लोहनीकै आग्रहमा एमाले उम्मेदवार धनबहादुर घलेको उम्मेदवारी फिर्ता गरि राप्रपाका डम्बर तामाङलाई समर्थन गरेको थियो । यसमा असन्तुष्ट रहेका घलेले पार्टीबाटै राजीनामाको घोषणा गरेका थिए । 

जिल्ला कमिटी उपाध्यक्ष समेत रहेका घलेको असन्तुष्टि निर्वाचनमा देखिन सक्ने खतरा पनि एमालेमाथि छ । लोहनी भने सुरुवातमा असन्तुष्ट देखिएपनि घलेले पार्टीको निर्णय स्वीकार गरिसकेका कारण त्यसको प्रभाव नपर्ने बताउँछन्। ‘उहाँ केही दिनपछि हामीसँगै प्रचारप्रसारमा हिँड्नुहुन्छ,’ उनले भने।  

कमजोर एकीकृत समाजवादी  

एकीकृत समाजवादीको राम्रो प्रभाव रहेको जिल्लामध्येमा पर्छ धादिङ । पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डे र उपमहासचिव डा. गंगालाल तुलाधर धादिङकै हुन् । काठमाडौं प्रेससँगको कुराकानीमा डा. तुलाधर धादिङमा एमालेलाई हराउन एकीकृत समाजवादी नै निर्णायक हुने बताउँछन् । स्थानीय निर्वाचनको परिणामले पनि तुलाधरको भनाईलाई पुष्टि गर्छ।

तर, २ नम्बर निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीको खासै प्रभाव देखिँदैन। स्थानीय निर्वाचनमा २ नम्बर निर्वाचन क्षेत्रभरी एकीकृत समाजवादीले २ हजार मात्रै मत पाएको छ । यसको सिधा लाभ लोहनीलाई पर्ने देखिन्छ । गठबन्धनभित्र थुप्रै असन्तुष्टि छन्, त्यसले हामीलाई सोझो फाइदा हुन्छ,’ लोहनीले भन्छन्,‘ असन्तुष्ट पक्ष र राप्रपाको मत पाएपछि हामीले जित्ने करिब निश्चित नै छ।’

असन्तुष्ट जनता र स्वतन्त्र पार्टी 

पुराना राजनीतिक दल र त्यसबाट निर्वाचित प्रतिनिधिले जनताको पक्षमा काम नगरेको गुनासो प्रशस्तै सुनिन्छ । त्यही असन्तुष्टिकाबीच भर्खरै निर्वाचन आयोगमा दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीले बसुमाया तामाङलाई धादिङ–२ मा प्रतिनिधि सभातर्फका उम्मेदवार बनाएको छ । महिला उद्यमी र समाजसेवीका रुपमा परिचित तामाङका पक्षमा युवाहरुको समर्थन रहेको पाइन्छ । जित्न कठिन भएपनि उनले दुई प्रमुख उम्मेदवारले पाउने मत कटौती गर्ने क्षमता राख्ने जानकारहरु बताउँछन् । 

धादिङ–२ मा प्रतिनिधि सभा सदस्यका लागि जसपाले मेकरमान तामाङलाई उम्मेदवार बनाएको छ भने मंगोल नेशनल अर्गनाइजेसनबाट धनमाया तामाङ उम्मेदवार छन् । रुद्र बहादुर गेलाङ मगर, सरोज बुढाथोकी, सञ्जय दवाडी, टिकानिधी काप्री, बाबु कृष्ण श्रेष्ठ, रमेश पौड्ेल, हरी प्रसाद घिमिरे र दुर्ग कुमार शाक्य लगायतले स्वतन्त्र उम्म्ेदवारी दिएका छन् ।

स्थानीय तहमा कुन पार्टीको कति मत ? 

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा जिल्लाका सात गाउँपालिका समेटिएका छन् । गएको स्थानीय तह निर्वाचनमा सातै स्थानीय तहमा एमालेले पराजित भएको थियो । सातमध्ये ६ स्थानीय तह ( ज्वालामूखी, नीलकण्ठ, नेत्रावती, त्रिपुरासुन्दरी, गंगाजमुना र खनियावास)मा कांग्रेस उम्मेदवार निर्वाचित भएका थिए । रुवीभ्याली गाउँपालिकामा माओवादीका उम्मेदवार निर्वाचित भए। 

वडामा दलले पाएको मतपरिणाम हेर्दा पनि कांग्रेस नै अगाडि देखिन्छ । सात गाउँपालिकाका ५१ वडामध्ये कांग्रेसले  २२ वडा जित्दा एमालेले ८ वडाध्यक्ष जितेको छ । माओवादीले १०, राप्रपाले ४, एकीकृत समाजवादीले ३ र जसपाले १ वडाको नेतृत्व लिएको छ । बाँकी तीन वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए ।

राजनीतिक दलले वडामा पाएको मत केलाउँदा एमाले र कांग्रेसबीच त्यति धेरैको अन्तर देखिँदैन । सिंगो २ नम्बर क्षेत्रका वडाहरुबाट कांग्रेसले कुल २९ हजार ९२२ मत ल्याउँदा एमालेले २५ हजार ५९४ मत प्राप्त गरेको थियो । त्यस्तै माअ‍ोवादी केन्द्रले १४ हजार ४४४, राप्रपाले ५ हजार २६१, एकीकृत समाजवादीले २ हजार ७५२, जसपाले १ हजार १७७ र मंगोल नेशनल अर्गनाइजेशनले ४३४ मत ल्याएको थियो । २ नम्बर क्षेत्रभरी स्वतन्त्र उम्मेदवारहरुले ४ हजार ७८७ मत प्राप्त गरे। 

वडास्तरमा प्राप्त गरेको मत जोड्दा सत्ता गठबन्धन (कांग्रेस, माओवादी, एकीकृत समाजवादी)को मत ४७ हजार ११८ पुग्छ भने एमाले र उसको पक्षमा रहेको राप्रपाको मत जोड्दा ३० हजार ८५५ पुग्छ । जिल्लामा करिब ६ हजार तटस्थ मत आफ्नो पक्षमा पार्न दुबै उम्मेदवारले प्रचारप्रसार तीब्र बनाएका छन् । स्थानीय तहको आँकडा हेरेर परिणाम आँकलन गर्न नमिल्ने एमाले उम्मेदवार लोहनी बताउँछन् । ‘नीति बनाउने ठाउँमा व्यक्ति हेरिँदैन पार्टी हेरिन्छ, त्यसकारण एमालेको जित निश्चित छ,’ उनले भने। 

याे पनि :

धादिङ–१ मा पाण्डे र त्रिपाठी : पहिले सहयात्री अहिले प्रतिस्पर्धी 
 

प्रकाशित मिति: १४:४३ बजे, मंगलबार, कात्तिक १, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्