Kathmandu Press

तेह्रथुममा आठ पत्रकार पुरस्कृत

सञ्चार क्षेत्रमा पुर्‍याएको योगदानका कारण उनीहरुलाई सम्मान गरिएको हो। 
तेह्रथुममा आठ पत्रकार पुरस्कृत

तेह्रथुम, मंसिर १७ : नेपाल पत्रकार महासङ्घ तेह्रथुमले १२औं साधारण सभाको अवसरमा जिल्लाका तीन महिला र पाँच पुरुषसहित आठ पत्रकारलाई पुरस्कृत गरेको छ। सञ्चार क्षेत्रमा पुर्‍याएको योगदानका कारण उनीहरुलाई सम्मान गरिएको हो। 

पुरस्कृत हुनेमा कान्तिपुर संवाददाता चन्द्र कार्की र जिल्ला शाखाका पूर्वअध्यक्ष एवं रेडियो तेह्रथुमका सहायक स्टेशन म्यानेजर नरेश ढुङ्गाना रहेका छन्।

दुवैजनालाई  क्रियाशील पत्रकारिता पुरस्कार, २०७९ बाट पुरस्कृत गरिएको हो। पुरस्कारको राशि जनही रु ११ हजार एक सय ११ रहेको छ। उक्त पुरस्कार हाल अस्ट्रेलियामा बस्दै आउनुभएका राधिका पोखरेल र डा सञ्जिव सापकोटा दम्पत्तिले स्थापना गरेका हुन्। 

यस्तै महासङ्घले जिल्ला शाखाका पूर्वअध्यक्ष उद्धव तिम्सिना र रेडियो मेन्छ्यायेमका पत्रकार कृष्ण तामाङलाई तेह्रथुम पत्रकारिता विकास पुरस्कारबाट पुरस्कृत गरिएको छ।  पुरस्कारको राशि जनही रु पाँच हजार पाँच सय ५५ रहेको छ। उक्त पुरस्कार म्याङलुङका उमा कार्की र तेजबहादुर कार्की दम्पत्तिले स्थापना गरेका हुन्। 

यसैगरी तेह्रथुम महिला पत्रकारिता पुरस्कारबाट रेडियो मेन्छ्यायेमकी पत्रकार जानुका नेपाल र रेडियो तेह्रथुमकी पत्रकार अस्मिता सुवेदी पुरस्कृत भएका छन्। पुरस्कारको राशि जनही रु एक हजार एक सय रहेको छ।

उक्त पुरस्कार स्व सोमनाथ निरौलाको परिवारले  स्थापना गर्नुभएको हो। आर्थिक पत्रकारिता पुरस्कारबाट रेडियो तीनजुरेकी पत्रकार सरस्वती राई र रेडियो मेन्छ्यायेमका पत्रकार वीरेन्द्र पयाङगु सम्मानित भएका छन्।

उक्त पुरस्कारको राशि जनही रु एक हजार एक सय ११ रहेको छ। सो पुरस्कार सहयोगी बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको हो। 

संविधानसभा सदस्य सिता गुरुङ, तेह्रथुम प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल र नेपाल पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष लिलावल्लभ घिमिरेले सम्मानित सबैलाई संयुक्त रुपमा सम्मानपत्र, दोसल्ला र नगद पुरस्कार प्रदान गरेका थिए।

शाखाले साधरणसभाको अवसरमा जिल्लाबाट हालै निर्वाचित भएका उम्मेदवार गुरुङ, दुलाल र दुर्गाप्रसाद चापागाईलाईसमेत सम्मान गरेकाे थियाे।

यस्तै गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी हुनुभएका महासङ्घका सदस्य छथर गाउँपालिका अध्यक्ष सन्तविर लिम्बु र आठराई गाउँपालिका–६ का वडाध्यक्ष कृष्ण बास्कोटालाई समेत सो अवसरमा सम्मानित गरिएको थियो। 

प्रकाशित मिति: १६:१८ बजे, शनिबार, मंसिर १७, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्