Kathmandu Press

एक दिनकाे घुमघामका लागि उपयुक्त गन्तव्य सूर्यविनायक 

काठमाडौं उपत्यकामै एकदिने रमणीय यात्राका लागि भक्तपुरस्थित सूर्यविनायक नगरपलिकामा रहेका चारवटा पर्यटकीय गन्तव्य चहार्न सकिन्छ। ती हुन्, सूर्यविनायक गणेश मन्दिर, पाइलट बाबा, घ्याम्पेडाँडा र रानीघाट।
एक दिनकाे घुमघामका लागि उपयुक्त गन्तव्य सूर्यविनायक 
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर १७ : कान खाने कोलाहल, ट्राफिक जामको सकस, बिहान झिसमिसेदेखि राति अबेरसम्मको दौडधुप। ‘मेसिन’जस्तै बनेको छ काठमाडौंमा बस्नेहरूको दैनिकी। कहिलेकाहीँ यस्तै झर्कोलाग्दो परिस्थितिबाट बाहिर निस्केर फुक्काफाल भई घुम्ने रहर जोकोहीलाई हुन्छ।

‘कंक्रिटको सहर’बाट अलिकति पर गएर सुन्दर प्राकृतिक परिवेशमा आफूलाई भुलाउने हो भने वास्तवमै अवर्णनीय आनन्दको अनुभूति गर्न पाइन्छ। त्यस्तो ठाउँ कहाँ छ भन्ने लाग्छ भने त्यो चिन्ताको विषय हुँदै होइन ।

काठमाडौं उपत्यकामा बसोबास गर्नेलाई एक दिने यात्राका लागि सूर्यविनायक एउटा उपयुक्त गन्तव्य बन्ने सक्छ। भक्तपुरस्थित सूर्यविनायक नगरपालिकामा अवस्थित विभिन्न पर्यटकीय स्थल घुम्ने हो भने भरपुर मज्जा पनि लुट्न सकिन्छ ।

सूर्यविनायक धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्राकृतिक रूपले अत्यन्त महत्वपूर्ण छ। त्यहाँका सुन्दर, शान्त र रमणीय स्थलहरू सदैव पर्यटकको पर्खाइमा हुन्छन् । सवारी साधनमा हुइँकिने भन्दा पनि त्यहाँ गरिने पदयात्रा अविस्मरणीय हुनेमा कुनै शंका छैन। 

surya binayak mandir1670058535.jpg

सूर्यविनायक चोक पुग्नेबित्तिकै ठिंग उभिएजस्तै देखिन्छ, सूर्यविनायक गेट। गेटभित्र प्रवेश गरेसँगै यात्रा सुरु भइहाल्छ। केही दूरीमै भेटिन्छ, सूर्यविनायक मन्दिर। गणेश मन्दिरको दर्शन गरेर यात्रा अगाडि बढाउन सकिन्छ। उपत्यकामा रहेका प्रमुख चार गणेशस्थानमध्ये सूर्यविनायक एक हो। 

यो मन्दिर लिच्छिविकालमा शिखर शैलीमा निर्माण गरिएको सूर्यविनायक नगरपालिका वडा ७ का अध्यक्ष तथा नगरपालिका प्रवक्ता रवीन्द्र सापकोटा बताउँछन्। ‘हरेक मंगलबार र माघमा भक्तजनको घुइँचो हुन्छ,’ सापकोटा भन्छन्, ‘सूर्यविनायकको पूजाबाट भाग्य निर्माण हुने र समृद्धि आउने जनविश्वास छ।’ 

गणेश मन्दिरको दर्शनपछि शान्त र रमणीय स्थानको यात्रा सुरु हुने उनी बताउँछन्। ‘मन्दिर दर्शन गरेपछि उकालो लाग्न सकिन्छ, सडक पछ्याउँदै जान पनि सकिन्छ,’ उनी भन्छन्, ‘हिँड्दाहिँड्दै एक घन्टामै पाइलट बाबा आश्रम पुगिन्छ।’ 

पाइलटबाबा आश्रम अर्को पर्यटकीय गन्तव्य हो। सूर्यविनायक चोकबाट करिब पाँच किलोमिटर यात्रापछि यो आश्रममा पुगिन्छ। सडक र पदमार्ग दुवै छन्। पाइलटबाबा आश्रम क्षेत्रको करिब पाँच रोपनी जमिनलाई डा. रामप्रसाद पोखरेलले सजाएका छन्।

pailat baba1670058536.jpg

डा. पोखरेलले आश्रममा ध्यान गर्ने हल, गणेश, शिव र दुर्गाको मन्दिर बनाएका छन्। सुन्दर र शान्त वातावरण र अग्लो स्थानमा भएकाले पाइलटबाबा आश्रम आन्तरिक पर्यटकको रोजाइमा परिरहेको वडाध्यक्ष सापकोटा बताउँछन्। ‘अहिले ध्यान गर्ने र शान्त वातावरण रुचाउनेका लागि विशेष गतव्य बन्दै गएको छ,’ उनी भन्छन्। त्यहाँबाट काठमाडौं उपत्यकाको दृश्यावलोकनसमेत गर्न सकिन्छ। 

पाइलटबाबा आश्रम पुगेपछि यात्रालाई अझ रोचक बनाउन उकालो लाग्नुपर्ने हुन्छ। त्यसपछि भेटिन्छ तेस्रो गन्तव्य घ्याम्पे डाँडा। घ्याम्पे डाँडामा पिकनिक र घुमघामका लागि युवाको रोजाइमा पर्न थालेको छ। पछिल्लो समय धेरैलाई मोहनी लगाएको घ्याम्पे डाँडा सूर्यविनायक चोकबाट साढे पाँच किलोमिटर यात्रा तय गरेपछि पुगिन्छ। त्यो ठाउँ सूर्यविनायक–७ गुन्डुमा पर्छ। 

ghyampe danda1670058536.jpg

स्थानीयको ‘कुस बिर्ता’का रूपमा रहेको यो डाँडालाई २०२१ सालको नापीपछि चिहानडाँडा नामकरण गरिएको थियो। २०३५ सालपछि यसको नाम फेरेर घ्याम्पेडाँडा रहन गएको वडाध्यक्ष सापकोटा बताउँछन्। ‘पहिला बटुवा अथवा गोठालाहरुले गाईवस्तुलाई पानी खुवाउन जमिनमुनि घ्याम्पो गाडेर राख्ने भएकाले घ्याम्पेडाँडा भन्न थालिएको हो,’ उनी भन्छन्, ‘घ्याम्पोमा पानी राख्दा जाडोमा तातो र गर्मीमा चिसो हुने भएकाले जमिनमुनि राख्ने गरिन्थ्यो रे !’  

घ्याम्पेडाँडा पुग्ने धेरै पर्यटकको प्रश्न हुन्थ्यो, घ्याम्पो खोइ? त्यसैले गत वर्ष २५ लाख रुपैयाँमा घ्याम्पो निर्माण गरिएको छ। ‘परापूर्वकालदेखि घ्याम्पेडाँडाको नामबाट परिचित भएकाले पहिचान झल्काउन र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न घ्याम्पो निर्माण गरिएको हो,’ उनी भन्छन्, ‘घ्याम्पो तलैदेखि फलामको डन्डी हालेर सिमेन्टबाट पक्की रूपमा २२ फिट उचाइको बनाइको छ।’ 

अझै रमणीय दृश्य हेर्ने लोभ लाग्यो भने रानीकोट गढी पुग्न सकिन्छ। सूर्यविनायकको चौथो गन्तव्यका रूपमा रहेको रानीकोट गढी सूर्यविनायक चोकबाट करिब सात किलोमिटरको दुरी पार गर्नुपर्छ। सूर्यविनायक–७ को सामुदायिक वन क्षेत्रभित्रमा रहेको रानीकोट गढी पछिल्लो समय आकर्षणको केन्द्र बनेको छ।

ranikot1670058535.jpg

एकदिने पदयात्रा तथा उपत्यकानजिकै घुम्न चाहनेका लागि रानीकोट गढी उत्कृष्ट गतव्यका रूपमा रहेको स्थानीय बताउँछन्। त्यहाँ पुगेपछि थुम्कोमा पुग्न करिब आठ सय सिँढी चढ्नुपर्छ। पाँच सय सिँढी चढेपछि चुच्चेढुंगामा चढेर वरिपरिको दृश्यावलोकन गर्न सकिन्छ। रानीकोटमाथि थुम्कोसम्म पुग्न पर्यटन बोर्डले युएनडिपीको सहयोगमा सिँढी निर्माण गरिएको हो। 

रानीकोटमा वरिपरि खाल्डो र बीचमा थुम्को छ। त्यस ठाउँलाई परापूर्वकालमा गढी भन्ने गरिएको उनी बताउँछन्। वरिपरि जंगल र बीचमा भएको थुम्कोका कारण उपत्यकाको रमणीय दृश्य देख्न सकिने उनको भनाइ छ। रानीकोट गढीबाट थानकोटसम्मको दृश्य देख्न सकिन्छ।

वडाध्यक्ष सापकोटाका अनुसार पुरातत्व विभागले उत्खनन गरेर रानिकोट गढी पत्ता लगाएको हो। ‘पहिले जंगलका बीचमा भएकाले रानीकोट गढी भनेर थाहा भए पनि त्यति पर्यटक जाँदैनथे, अहिले सिँढी बनाएपछि पर्यटकको आगमन बढेको छ,’ उनी भन्छन्। 

शिव सर्किट बनाइँदै

चारवटा रमणीय पर्यटकीय गन्तव्यसँगै सूर्यविनायक नगरपालिकाले नयाँ पर्यटकीय रुट निर्माण गर्न लागेको छ। नगरपालिकाभित्र रहेका १० वटा वडाका महादेवको मन्दिरलाई जोड्ने गरी ‘शिव सर्किट’ निर्माणको तयारी भइरहेको नगर प्रवक्ता सापकोटा बताउँछन्।

rabindra sapkota1670058673.jpg

रवीन्द्र सापकाेटा, प्रवक्ता, सूर्यविनायक नगरपािलका

‘कतिपय वडामा पदमार्ग बनिसकेका छन्, नभएका ठाउँमा बनाउने तयारी भइरहेको छ,’ उनी भन्छन्, ‘हिन्दु धर्मलम्बीलाई लक्ष्य गरेर नयाँ गतव्य बनाउने प्रयास गरिएको हो।’  उनका अनुसार वडा १ मा साेमलिंगेस्वर महादेव, वडा २ मा धर्मेश्वर महादेव, वडा ४ को चरखण्डी महादेव अनन्तलिंगेश्वर मन्दिर, वडा ५ काे सुवर्णेश्वर म वडा ७ को रामभक्तेश्वर महादेव, वडा ८ को केदारनाथकाे शीर डोलेश्वर महादेव र आसापुरी, वडा ९ को नन्दिकेश्वर महादेव र वडा १० को अग्लाे महादेव हुँदै लटरम्मेश्वरी महादेव जोडिनेछ।

सबै वडाको महादेवको मन्दिरलाई जोडेर सर्किट बनाएपछि पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनलाई तान्न सकिनेमा उनी विश्वास्त छन्।

surya binayak1670058537.jpg

प्रकाशित मिति: १४:३२ बजे, शनिबार, मंसिर १७, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्