Kathmandu Press

जो झिनो मतान्तरले पराजित भए 

पाँचथरमा कांग्रेसका भीष्मराज आङ्देम्बे सबैभन्दा कम मतान्तरले पराजित भए । उनी एमालेका बसन्तकुमार नेम्वाङसँग ४७ मतको अत्यन्त झिनो अन्तरले पराजित भए ।
जो झिनो मतान्तरले पराजित भए 
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर १२ : यसपालिको निर्वाचनमा ठूला कहलिएका राजनीतिक दलका प्रभावशाली नेताहरु नै पराजित हुन पुगे । चुनावी मैदानमा युवाहरुको बाक्लो उपस्थिति र नयाँ दलको आगमनले वर्षौँदेखि प्रभाव जमाउँदै आएका व्यक्तिहरुले यसपालि अप्रत्यासित हार ब्यहोर्न पुगे। वाम लोकतान्त्रिक गठबन्धन र एमाले नेतृत्वको गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने चुनावअघिको आकलनले मतपरिणाम आउँदासम्म फेल खान पुगेको छ । 

मतपरिणाम अन्तिम चरणमा पुग्दा ठूला दलका प्रभावशाली व्यक्तिहरु झिनो मतान्तरले पराजित हुन पुगे । चुनावअघि नै विजयको विगुल फुक्नेहरुलाई परिणामले ठूलै झड्का दिएको छ । अझै ठूलो झड्का उनीहरुमाथि पर्यो जसले अत्यन्तै झिनो मतान्तरले चुनाव हारे ।  

अघिल्लो निर्वाचनमा लुम्बिनी प्रदेश सरकारको नेतृत्व दिने एमालेको आश्वासनपछि शंकर पोखरेल प्रदेश सभामा झरेका थिए । चुनाव जितेर उनी लुम्बिनीको मुख्यमन्त्री पनि बने । आफ्नै जोडबलले लुम्बिनीको राजधानी दाङबाट बुटवल सारे । पोखरेल अघिल्लो वर्ष भएको एमालेको महाधिवेशनबाट पार्टीको शक्तिशाली पद महासचिव पनि भए ।

यसपालि उनी प्रतिनिधिसभा सदस्यका लागि दाङ–२ बाट उम्मेदवार थिए।  एमालेको हिसाबकिताबमा शंकर पोखरेल हार्ने परिकल्पना गरिएको थिएन । तर, गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मासँग १९३ मतको झिनो अन्तरले पोखरेल पराजित हुन पुगे । दाङमा पोखरेलले मात्रै हारेनन् पूरै जिल्लामा एमाले बढारिन पुग्यो । शर्माले २६ हजार ८८० मत पाउँदा पोखरेलले २६ हजार ६८७ मत ल्याए । पोखरेलको हारले पार्टीमा गहिरो सन्नाटा छाएको छ । 

यसपालि काठमाडौं–१ लाई विशेष चासोका साथ हेरिएको थियो । अघिल्लो निर्वाचनमा व्यहोरेको हारको बदला लिन राप्रपाबाट रवीन्द्र मिश्रले कांग्रेसका प्रकाशमान सिंहविरुद्ध उम्मेदवारी दिएका थिए । तर, यसपालि पनि मिश्र १३२ मतान्तरले पराजित भए । अघिल्लो निर्वाचनमा करिब ८०० मतान्तरले पराजित भएका मिश्र यसपालि पनि स्तब्ध भए। सिंहले  ७ हजार १४३ मत पाउँदा मिश्रले ७०११ मत ल्याए। 

इलाम–२ को मतपरिणाम सार्वजनिक हुँदैपिच्छे एमाले र कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखियो । अन्तिममा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ ११४ मतान्तरले निर्वाचित भए । प्रारम्भिक चरणदेखि पछि परेका नेम्वाङ अन्तिममा ३० हजार २० मतसहित विजयी हुँदा कांग्रेसका डम्बरबहादुर खड्का २९ हजार ९०६ मत पाएर पराजित हुन पुगे ।  

एमाले विभाजन र पाँच दलीय गठबन्धन रहेकाले ढुक्क रहेका खेलप्रसाद बुढाक्षेत्री ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराईसँग २०८ मतको झिनो अन्तरले पराजित हुन पुगे । त्यहाँ २१ हजार ९४६ मत ल्याएर भट्टराई निर्वाचित हुँदा माओवादी केन्द्रका उम्मेदवार रहेका बुढाथोकीले २१ हजार ७३८ मत पाए ।

धनुषा–४ नेकपा एमालेका सचिव रघुवीर महासेठ पनि अत्यन्त झिनो मतान्तरले निर्वाचित भए। त्यहाँ नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव केबल १२४ मतान्तरले पराजित हुन पुगे । महासेठले ३२ हजार २३६ मत ल्याउँदा यादवले ३२ हजार ११२ मत ल्याए ।
  
दैलेख–२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल १५३ मतान्तरले पराजित भए। त्यहाँ कांग्रेसका दिक्पाल कुमार शाह २० हजार १५८ मत ल्याएर निर्वाचित हुँदा पोखरेलले  २० हजार ५ मत ल्याए ।

त्यस्तै बर्दिया–२ मा माआवादी केन्द्रका उम्मेदवार सुरेश पन्थ १७२ मतान्तरले पराजित भए । त्यहाँ स्वतन्त्र उम्मेदवारी दिएका लालवीर चौधरीले २६ हजार ५२० मत ल्याउँदा पन्थले २६ हजार ३८४ मत ल्याए । 

मधेशमा एमालेका प्रभावशाली नेता मानिने उमाशंकर  अरगरिया धनुषा–१ बाट झिनो मतान्तरले पराजित भए । कांग्रेसका रामकृष्ण यादवले अरगरियालाई १५७ मतको झिनो अन्तरले पराजित गरे । यादवले २० हजार ११२ मत पाउँदा अरगरियाले १९ हजार ९५५ मत ल्याए । 

पर्सा–३ मा एमालेका राजकुमार गुप्ता २४ हजार २६० मतले निर्वाचित हुँदा कांग्रेसका सुरेन्द्रकुमार चौधरी २४ हजार १०९ मत ल्याएर पराजित भए । त्यहाँ गुप्ता र चौधरीको मतान्तर १५१ मात्रै रहेको छ। 

पाँचथरमा कांग्रेसका भीष्मराज आङ्देम्बे ४७ मतको अत्यन्त झिनो अन्तरले पराजित हुन पुगे । त्यहाँ एमालेका बसन्तकुमार नेम्वाङ निर्वाचित भए । नेम्वाङले ३२ हजार ११० मत पाउँदा कांग्रेसका आङ्देम्बेले ३२ हजार ६३ मत ल्याए । 

याे पनि

जो भारी मतान्तरले निर्वाचित भए 

 

प्रकाशित मिति: १२:२१ बजे, मंगलबार, मंसिर १३, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्