Kathmandu Press

जो भारी मतान्तरले निर्वाचित भए 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबैभन्दा बढी मतान्तरले चुनाव जिते भने एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले सबैभन्दा बढी मत प्राप्त गरे ।
जो भारी मतान्तरले निर्वाचित भए 

काठमाडौं, मंसिर १२ : मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको परिणाम अन्तिम चरणमा पुगेको छ । 

अहिलेसम्मको नतिजाअनुसार प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी सिट जितेको छ । उसले ५३ सिट जितिसकेको छ भने एमालेले ४२ र माआवादी केन्द्रले १७ सिट जितेको छ । त्यस्तै एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ७, जसपाले ७, लोसपाले ३ र नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जितेको छ । 

अन्तिम मतपरिणाम आइसकेका ३० भन्दा बढी स्थानमा विजयी उम्मेदवारहरुले दस हजार भन्दा बढी मतान्तर कायम गरेका छन् । जाजरकोटबाट विजयी भएका माओवादी केन्द्रका उम्मेदवार शक्ति बस्नेतले एमालेका निरजप्रसाद आचार्यलाई ९ हजार ३१ मतान्तरले पराजित गरे । त्यस्तै चितवन–३ बाट निर्वाचित राप्रपाका विक्रम पाण्डेले गठबन्धनबाट माओवादीका उम्मेदवार भोजराज अधिकारीलाई ९ हजार २३३ मतान्तरले पराजित गरे ।

यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सबैभन्दा बढी मतान्तरले निर्वाचित भए । चितवन–२ बाट चुनाव लडेका रविले ४९ हजार २६४ मत ल्याएर विजयी हुँदा गठबन्धनबाट कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८३ मत मात्रै ल्याए । रवि र उमेशबीचको मतान्तर ३४ हजार ३८१ छ । त्यहाँ एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६६७ मत मात्रै ल्याए ।

लामिछानेपछि नेपाल मजदुर किसान पार्टीका सचिव रहेका प्रेम सुवालले सबैभन्दा बढी मतान्तरले चुनाव जिते । भक्तपुर–१ बाट निर्वाचित सुवालले ४२ हजार ७६१ मत पाउँदा एमालेका नवराज गेलालले ११ हजार ९६८ मत ल्याए । त्यहाँ सुवाल ३० हजार ७९३ को भारी मतान्तरले निर्वाचित भएका हुन् । उनको विपक्षमा भएका सबैको मत जोड्दा पनि सुवालले पाएको जति मत पुग्दैन। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट भारी मतान्तरले निर्वाचित भए । उनी सबै भन्दा बढी मत पाउने उम्मेदवार पनि हुन् । ओलीले  ५२ हजार ३१९ मत पाउँदा कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत ल्याए । उनीहरुबीचको मतान्तर २८ हजार ५७६ छ । 

अर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा २६ हजार ५८८ को भारी मतान्तरले रुकुम पश्चिमबाट निर्वाचित भए । त्यहाँ उनले ३९ हजार ५४९ मत ल्याउँदा एमालेका नन्दराम देवकोटाले १२ हजार ९६१ मत ल्याए । माओवादीकै अर्का उपमहासचिव वर्षमान पुन २५ हजार २२९ मतान्तरले रोल्पाबाट विजयी भए । उनले ४१ हजार ७१४ मत ल्याउँदा एमालेका पूर्ण बुढामगरले १६ हजार ४८५ मत मात्रै ल्याए। 

मोरङ–३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्माले एमालेका भानुभक्त ढकाललाई २२ हजार ७३६ मतान्तरले पराजित गरे । त्यहाँ शर्माले ४८ हजार ६३१ मत पाउँदा पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका ढकालले २५ हजार ८९५ मत मात्रै ल्याए । राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रेखा थापाले १० हजार मत पाइन् । 

सप्तरी–२ मा यसपालि जसपाका अध्यक्ष नै पराजित भए । त्यहाँ भारी मतान्तरले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत विजयी भए । राउतले ३५ हजार ४२ मत ल्याउँदा जसपा अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९६९ मतमात्रै ल्याए । राउत १८ हजार ६३ मतान्तरले विजयी भएका हुन् । 

यसपालि प्रमुख दललाई चक्मा दिँदै ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की भारी मतान्तरले विजयी भइन् । त्यहाँ उनले एमाले उम्मेदवार अमृत खड्काभन्दा १८ हजार १३७ बढी मत पाइन् । माओवादी केन्द्रकी पम्फा भुसालभन्दा २२ हजार ३६७ बढी मत ल्याइन् । कार्कीले ३१ हजार १३६ मत ल्याउँदा एमालेका खड्काले १२ हजा ९६३ र माआवादी केन्द्रकी भुसालले ८ हजार ७६९ मत ल्याइन्।

कपिलवस्तु–१ बाट नेकपा एमालेका बलराम अधिकारी १८ हजार १९० मतान्तरले विजयी भए । उनले ३६ हजार ६१९ मत ल्याउँदा गठबन्धनका उम्मेदवार चक्रपाणी खनालले १८ हजार १९० मत ल्याए । त्यस्तै रामेछापमा एमालेका कैलाश प्रसाद ढुंगेललाई १७ हजार ९८ मतान्तरले पराजित गर्दै कांग्रेसका पूर्णबहादुर तामाङ निर्वाचित भए । तामाङले ४७ हजार ९८ मत पाउँदा ढुंगेलले ३० हजार ७२९ मत ल्याए ।

गोरखा–१ बाट निर्वाचित भएका कांग्रेस उम्मेदवार राजेन्द्र बजगाईँले ३३ हजार ४२८ मत ल्याए । उनले एमालेका रामशरण बस्नेतलाई १६ हजा ७८५ मतान्तरले पराजित गरे । सल्यानबाट निर्वाचित भएका एकीकृत समाजवादीका उम्मेदवार प्रकाश ज्वालाले १५ हजार ९११ मतान्तरले निर्वाचित हुँदा १५ हजार ३६५ मतान्तरले नवलपरासी–१ मा राप्रपाका ध्रुवबहादुर प्रधान निर्वाचित भए । 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले उम्मेदवार अग्नि खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गरे । झापा–१ को प्रतिनिधि सभातर्फ शर्माले ३९ हजार ६२४ मत ल्याउँदा खरेलले २५ हजार ३४९ मत ल्याए । 

गोरखा–२ बाट चुनाव लडेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १३ हजार ४६६ मतान्तरले निर्वाचित भए । त्यहाँ उनले २६ हजार १०३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका  कविन्द्र बुर्लाकोटी १२ हजार ६३७ मतमा सिमित रहे भने एमालेका अब्दुस मियाँले ७ हजार ३९६ मत ल्याए । त्यस्तै पाल्पा–१ मा एमालेका नारायणप्रसाद आचार्य १० हजार ८४७ मतान्तर, जुम्लामा राप्रपाका ज्ञान बहादुर शाही १० हजार ८६० मतान्तर, सिन्धुपाल्चोक–२ मा कांग्रेसका मोहनबहादुर बस्नेत ११ हजार ८७४, महोत्तरीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शरतसिंह भण्डारी  १४ हजार ७० मतान्तरले निर्वाचित भए । 

त्यस्तै सर्लाही–३ मा एमालेका हरिप्रसाद उप्रेती ११ हजार ७७० मतान्तर, डडेलधुरामा प्रधानमन्त्री शेरबहादुर देउवा १२ हजार ४९२ मतान्तर, सुर्खेतमा कांग्रेसका पूर्णबहादुर खड्का ११ हजार ६१९ मतान्तर, कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठ १२ हजार ३१९ मतान्तर, धादिङ–२ मा कांग्रेसका रामनाथ अधिकारी १० हजार ५३३ मतान्तर र कञ्चनपुर–३ मा कांग्रेसका रमेश लेखक १२ हजार ०७५ मतान्तरले निर्वाचित भएका छन् । 

 

प्रकाशित मिति: १७:३० बजे, सोमबार, मंसिर १२, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्