Kathmandu Press

सिन्धुलीमा प्रत्यक्षतर्फ एमाले ‘निल’, समानुपातिकमा पहिलो शक्ति

समानुपातिकमा राम्रो मत ल्याए पनि प्रत्यक्षमा जित हासिल गर्न नसक्दा फुटबलमा राम्रो खेल्दाखेल्दै पनि गोल गर्न नसकेर हार बेहोर्नुपरेजस्तै नियति भोग्न सिन्धुलीको एमाले विवश भएको छ।
सिन्धुलीमा प्रत्यक्षतर्फ एमाले ‘निल’, समानुपातिकमा पहिलो शक्ति
Hardik ivfHardik ivf

काठमाडाैं, मंसिर ११ : नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत सिन्धुली जिल्लामा पर्ने ६ वटै क्षेत्रमा विजय हासिल गरेको छ। मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा गठबन्धनमा आबद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बराबरी तीनतीन स्थानमा विजय हासिल गरेका छन्।

२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई स्थानमा जित्न सफल एमाले भने यसपालि ‘निल’ भएको छ। सत्ता गठबन्धनको रापतापमा पर्दा एमालेलाई नतिजामा धक्का लागेको हो।

१. प्रतिनिधिसभा

प्रतिनिधिसभाअन्तर्गत क्षेत्र नम्बर १ मा कांग्रेस र क्षेत्र नम्बर २ मा माओवादी केन्द्रले जित निकाल्दा प्रदेशसभातर्फ पनि ती दुई दलले बराबरी दुईदुई स्थानमा बाजी मारेका छन्। सिन्धुली १ प्रदेशसभा (क) तथा सिन्धुली २ प्रदेशसभा (ख) मा माओवादी केन्द्रले र सिन्धुली १ प्रदेशसभा (ख) तथा सिन्धुली २ प्रदेशसभा (क) मा कांग्रेसले जित निकालेका छन्।

१२ जना उम्मेदवार रहेको क्षेत्र नम्बर १ मा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका श्यामकुमार घिमिरेले ४ हजार ८२७ मतान्तरसहित परिणाम आफ्नो पक्षमा पारे। उनले जितका लागि ३० हजार ३९१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रदीपकुमार कटुवाल २५  हजार ५६४ मतमा सीमित भए। यही निर्वाचनबाट राष्ट्रिय दलका रूपमा स्थापित भएकाे दल (आधिकारिक रूपमा ताेकिन बाँकी) राष्ट्रिय स्वतन्त्र पार्टीकी मेनुका ठकुरीले पनि २ हजार ६९२ मत बटुलिन्। अन्य नौ उम्मेदवारले भने हजार मत पनि कटाउन सकेनन्।

त्यसैगरी ९ जना उम्मेदवार रहेको क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका लेखनाथ दाहाल (राजन) ले ५ हजार ८३० मतान्तरले जित हासिल गरे। उनले २७ हजार ५१८ मत ल्याएर विजयको झन्डा गाड्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनोजजंग थापाले २१ हजार ६८७ मत मात्र आफ्नो पक्षमा पारे।

राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले पनि १ हजार ५५३ मत आफ्नो पोल्टामा पार्दै तेस्रो स्थानमा आफूलाई उभ्याए। राष्ट्रिय प्रजातन्त्र पार्टीका भीष्मराज श्रेष्ठ १ हजार ३४० मत ल्याई चौथो स्थानमा रहन सफल भए। अन्य ५ उम्मेदवार भने हजारभन्दा कम मतमै थन्किए। 

netaharu1669554174.jpg

२. प्रदेशसभा

सिन्धुली १ प्रदेशसभा (क) मा माओवादी केन्द्रका मातृकाप्रसाद भट्टराईले जितेका छन्। एमालेका सुवासराज देवकोटालाई ३ हजार ३२० मतले पछि पारेर उनी वाग्मती प्रदेशसभा सदस्यका लागि चुनिएका हुन्। भट्टराईले १५ हजार ८५३ मत ल्याउँदा देवकोटा १२ हजार ५३३ मै रोकिए।

सिन्धुली १ प्रदेशसभा (ख) मा कांग्रेसका रामकुमार पहाडी विजयी भए। एमालेका कुमारबहादुर कार्कीलाई १ हजार ९२१ मतान्तरले पछि पारेर उनी वाग्मती प्रदेशसभा सदस्य बन्न सफल भएका हुन्। पहाडीले १५ हजार ६२१ मत ल्याउँदा कार्कीले १३ हजार ३९९ मै चित्त बुझाउनुपर्‍यो।

सिन्धुली २ प्रदेशसभा (क) मा कांग्रेसका छेत्रबहादुर बम्जनले जित निकाले। एमालेका विनोदकुमार खड्कालाई ५ हजार २०२ मतले पछि पारेर उनी वाग्मती प्रदेशसभा सदस्यका रूपमा आगामी पाँचवर्षे यात्रा तय गर्न सफल भएका हुन्। बम्जनले १६ हजार ८३५ मत ल्याउँदा खड्का ११ हजार ६३३ मै समेटिए।

सिन्धुली २ प्रदेशसभा (ख) मा माओवादी केन्द्रका गंगानारायण श्रेष्ठ विजयी भए। एमालेका रामकुमार पौडेललाई ५ हजार २०२ मतान्तरले पछि पारेर उनी वाग्मती प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। श्रेष्ठले १६ हजार ८३५ मत ल्याउँदा पौडेलले ११ हजार ६३३ भन्दा बढी मत बटुल्न सकेनन्।

३. अघिल्लो निर्वाचन २०७४ 

२०७४ सालको निर्वाचनमा कांग्रेस शून्य भएको थियो। त्यतिबेला एमाले र माओवादी केन्द्रले विजयका लागि तीनतीन क्षेत्रमा जनमत पाएका थिए। प्रतिनिधिसभातर्फ प्रदेशसभा सिन्धुली १ मा एमालेका गणेश पहाडी र २ मा माओवादी केन्द्रका हरिबोल गजुरेलले जित निकालेका थिए। यी दुवै यसपटक टिकट पाउनबाट वञ्चित रहे।  

त्यसैगरी २०७४ सालको प्रदेशसभा निर्वाचनमा सिन्धुली १ को प्रदेशसभा (क) मा माओवादी केन्द्रका लेखनाथ दाहाल (राजन) र (ख) मा प्रदीपकुमार कटुवालले जनमत आफ्नो पक्षमा पार्दै प्रदेशसभाको पाँचवर्षे यात्रा पूरा गरे। प्रदेश सांसद भइसकेका तिनै दाहालले यसपटक प्रतिनिधिसभामा बाजी मार्दा प्रतिनिधिसभा सदस्यकै लागि चुनावी मैदानमा उत्रिएका कटुवालका लागि भने पिरणामा निराशाजनक बन्न पुग्याे। कटुवालले पाँचवर्षे कार्यकालमा वाग्मती प्रदेश सरकारका स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने मौका पाएका थिए। 

त्यसैगरी २०७४ सालको प्रदेशसभा निर्वाचनमा सिन्धुली २ को प्रदेशसभा (क) मा एमालेका विनोद खड्का र (ख) मा बुद्धिमान माझी (वसन्त) जनमत आफ्नो पक्षमा पार्दै प्रदेशसभा सदस्य चुनिन सफल भएका छन्। खड्काले यसपटक फेरि पार्टीबाट टिकट पाए पनि त्यसलाई जितमा बदल्न सकेनन्। माझीले भने टिकटै पाएनन्।  

२०७४ नेपालका दुई ठुला कम्युनिस्ट पार्टीहरू एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन थियो। पार्टी एकता र विभाजनलगायत अन्य विभिन्न घटनाक्रमसँगै पाँच वर्षको अन्तरालमा गठबन्धन फेरिँदा देशैभरिको जस्तै सिन्धुलीको नतिजामा पनि उलटफेर आएको हो।

यसअघिको निर्वाचनमा एमालेसँग वाम गठबन्धनका नाममा एमालेसँग तालमेल गरेको माओवादी केन्द्र यसपटक भने लोकतान्त्रिक वाम गठबन्धनका नाममा कांग्रेससँग जोडिएको छ। माओवादीको दरिलौ साथ पाउँदा यसअघिको निर्वाचनमा गुमाएको विरासतलाई फर्काउन कांग्रेस सफल भएको छ। सिन्धुली १ प्रदेशसभा (२) मा प्रदीप कटुवालसँग पराजित भएका श्याम घिमिरेले गठबन्धनकै बलमा यसपटक प्रतिनिधिसभाको निर्वाचनमा तिनै कटुवालसँग पहिलाको हारको बदला लिएका छन्।

४. स्थानीय तहको निर्वाचन २०७९

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सबैभन्दा बलियो दल बनेर नेकपा माओवादी केन्द्र उभिएको थियो। नेपाली कांग्रेस दोस्रो शक्तिका रूपमा स्थापित हुँदा नेकपा एमाले तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको थियो।

नौ स्थानीय तह रहेको सिन्धुलीमा एक नगरपालिका र तीन गाउँपालिका गरी चारवटामा नेतृत्व गर्ने अवसर माओवादी केन्द्रको पोल्टामा परेको थियो। एक नगरपालिका र दुई गाउँपालिका गरी तीनवटामा कांग्रेस विजयी भएको थियो। एमालेले भने दुई गाउँपालिकाको नेतृत्वमा सीमित हुनुपरेको थियो। नौ पालिकामा उपाध्यक्षमध्ये कांग्रेसले चार, माओवादी केन्द्रले तीन र एमालेले दुईवटामा आफ्नो वर्चस्व कायम गरेको थियो।

सिन्धुलीका सबै पालिकामा गरी ७९ वटा वडा रहेकोमा ३० वटा वडामा कांग्रेस विजयी भएको थियो भने माओवादी केन्द्रले २६ वटा वडामा जित निकालेको थियो। एमालेले २३ वटा वडाध्यक्षमै सीमित हुनुपरेको थियो।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमाले, कांग्रेस र माओवादी केन्द्र तीनतीन वटा पालिकामा जित्दा ३२ वडामा विजयको झन्डा फहराएर एमाले जिल्लाको पहिलो शक्ति बनेको थियो। त्यतिबेला २७ वडामा जितेर कांग्रेस दोस्रो र २० वडामा जितेर माओवादी केन्द्र तेस्रो शक्तिका रूपमा सीमित बनेका थिए। अहिले यी दुई दलले मिलेर एमालेलाई पछि पारेका छन्। 

यसरी वाम लोकतान्त्रिक गठबन्धनको रापतापमा पर्दा स्थानीय तहमै खुम्चिन बाध्य एमाले सिन्धुलीका लागि यसपटकको आम निर्वाचन बिर्सनलायक बनेको छ। आम निर्वाचनको परिणामलाई हेर्दा सिन्धुली जिल्लाको हकमा कांग्रेस र माओवादीले स्थानीय तहको मतलाई सुरक्षित पार्न सकेको र एमालेकाे मत पनि खासै हलचल नभएकाे प्रारम्भिक विश्लेषण गर्न सकिन्छ।     

५. समानुपातिकमा एमाले बलियो

हालसम्म देशभरिका अधिकांश क्षेत्रको मतपरिणाम आइसकेको अवस्थामा समानुपातिकतर्फ जसरी एमाले सबैभन्दा अगाडि देखिएको छ त्यसरी नै सिन्धुलीमा पनि एमाले पहिलो स्थानमा छ। पार्टीगत आधारमा प्राप्त मत हेर्दा प्रतिनिधिसभा र प्रदेशसभा दुवैतिर समग्र मतका आधारमा एमाले पहिलो नम्बरमा रहन सफल भएको हाे।

सिन्धुलीमा पर्ने प्रतिनिधिसभातर्फ दुई क्षेत्रमा खसेको कुल मत हेर्दा एमालेले ३९ हजार ४९८ मतका साथ पहिलो स्थान बनाउँदा ३१ हजार ५९१ मतका साथ कांग्रेस दोस्रो स्थानमा रहन पुगेको छ। माओवादी केन्द्रको जिल्लागत मत २८ हजार २०७ मात्र रहेकाले तेस्रो स्थानमा परेको छ। चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ८ हजार ३१ मट संकलन गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) २ हजार २७७ मतका साथ पाँचौं स्थानमा उभिन सफल भएको छ। 

एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादीले भने हजार मत पनि कटाउन सकेन। तथापि ७६१ मत आफ्नो पक्षमा पारेर छैटौं स्थानमा भने उक्त पार्टी उभिएको छ। यी चारबाहेक अन्य ४१ दलले बढीमा ७३९ देखि घटीमा २ मतसम्म ल्याएका छन्। 

CPN UML1669276248.jpg

प्रदेशसभातर्फकाे समानसपातिकमा पनि एमालेकै वर्चस्व कायम भएको छ। वाग्मती प्रदेशसभाअन्तर्गत सिन्धुलीमा पर्ने चार क्षेत्रमा खसेको मतलाई समग्रमा जोडेर हेर्दा ४१ हजार ६४८ मत ल्याएर एमाले पहिलो पार्टी बनेको छ। प्रदेशतर्फ दोस्रो शक्तिका रूपमा माओवादी केन्द्र रहेको छ भने कांग्रेस तेस्रोमा पुगेको छ। माओवादी केन्द्रले ३० हजार ५२७ मत प्राप्त गर्दा कांग्रेसले २९ हजार ७६९ मत आफूतिर पारेको छ। 

प्रदेशसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले बन्दसूची नबुझाएका कारण मतपत्रमा चिह्न नहुँदा कत्ति पनि मत छैन। चौथो स्थानमा समेटिएको राप्रपाले ३ हजार ८८९ मत प्राप्त गरेको छ।  एकीकृत समाजवादी पार्टी १ हजार ६५० मत ल्याई पाँचौं स्थानमा आफूलाई उभिएको छ। यी पाँचबाहेक अन्य ३६ दलले बढीमा ६५४ देखि घटीमा ५ मतसम्म आफ्नो पक्षमा पारेका छन्।      

समानुपातिकमा राम्रो मत ल्याए पनि प्रत्यक्षमा जित हासिल गर्न नसक्दा फुटबलमा राम्रो खेल्दाखेल्दै पनि गोल गर्न नसकेर हार बेहोर्नुपरेजस्तै नियति भोग्न सिन्धुलीको एमाले विवश भएको छ।

६. समानुपातिकबाट एमालेलाई आशा

यसपटककाे निर्वाचनका सन्दर्भमा एमालेकाे अबको आशा भनेको संघीय संसद् र वाग्मती प्रदेशसभामा सिन्धुलीबाट ६ जनामध्ये कोही समानुपातिकबाट सांसद चुनियोस् भन्ने हो।

निर्वाचन आयोगमा सूचीकृत एमाले समानुपातिकको अन्तिम बन्दसूचीअनुसार प्रतिनिधिसभातर्फ सिन्धुलीबाट विषमलाल अधिकारी दनुवार आदिवासी जनजातिको छैटौं नम्बरमा छन्। उनी पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुली जिल्ला क्षेत्र नम्बर १ (त्यतिबेला सिन्धुलीमा तीनवटा निर्वाचन क्षेत्र थिए) बाट सभासद भइसकेका छन्।

बन्दसूचीमा रणकुमारी बलम्पाकी मगर आदिवासी जनजाति महिलाको पाँचौं नम्बरमा छिन्। २०७४ मा पनि उनी प्रतिनिधिसभातर्फ समानुपातिक बन्दसूचीमा थिइन्। तर प्रबल सम्भावनाबीच पनि उनी सांसद चुनिनबाट वञ्चित भइन्। त्यसैगरी खासआर्य महिलाको १४औं नम्बरमा सिन्धुलीबाट नेत्री उमा कोइराला बन्दसूचीमा छिन्।    

त्यसैगरी प्रदेशसभातर्फको बन्दसूचीमा कमलजंग राई आदिवासी जनजाति ११औंं नम्बरमा, सुकुमाया तामाङ आदिवासी जनजाति महिलाको तेस्रो नम्बरमा, भोजराज ढुंगेल खसआर्यको छैंटौं नम्बरमा छन्। 

प्रतिनिधिसभातर्फ ३ र प्रदेशसभातर्फ ३ गरी बन्दसूचीमा रहेका जम्मा ६ जनामध्ये कसैले समानुपातिकमा चुनिएको अवस्थामा सिन्धुलीको तर्फबाट एमालेको प्रतिनिधित्व गर्ने सांसद भनेर चित्त बुझाउनुपर्ने अवस्था छ। संघीय संसदमा र प्रदेशसभामा महिलाको प्रतिशत पुर्‍याउने, आदिवासी जनजाति, खसआर्यको सहभागिता गराउने सन्दर्भमा पार्टीले लिने निर्णयमा ती ६ जना सांसद बन्ने कि नबन्ने भन्ने कुरा निर्भर हुनेछ।

मतपरिणामको अन्तिम नतिजा आएपछि सिन्धुलीको समानुपातिक मतसमेतलाई आधार बनाएर चुनिने या नचुनिने भन्ने टुंगो लाग्नेछ।              

प्रकाशित मिति: १७:५९ बजे, आइतबार, मंसिर ११, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्