Kathmandu Press

मधेशमै कमजोर बने मधेशवादी दल, कांग्रेस र एमालेले जिते समान ७ सिट

अहिलेसम्म कुनै पनि स्थानमा जित निकाल्न नसकेको माओवादी केन्द्रका उम्मेदवार दुई स्थानमा अगाडि छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तीन, स्वतन्त्रले तीन, एकीकृत समाजवादीले दुई र जनमत पार्टीले एक स्थानमा जित निकालेको छ ।
मधेशमै कमजोर बने मधेशवादी दल, कांग्रेस र एमालेले जिते समान ७ सिट
Hardik ivfHardik ivf

धनुषा मंसिर १० : मधेश प्रदेशका आठ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये अब चार स्थानको मात्र नतिजा आउन बाँकी छ ।

अहिलेसम्म २८ स्थानको नतिजा सार्वजनिक भएको छ । नतिजा आउन बाँकी चार स्थानमध्ये एक स्थानमा नेपाली कांग्रेस, दुई स्थानमा माओवादी केन्द्र र एक स्थानमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अगाडि छन् ।

निर्वाचन आयोगले अहिलेसम्म सार्वजनिक गरेको परिणामअनुसार एमाले र कांग्रेसले सात÷सात स्थानमा जितेको छ । जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार पाँच क्षेत्रमा निर्वाचित भएका छन् ।

अहिलेसम्म कुनै पनि स्थानमा जित निकाल्न नसकेको माओवादी केन्द्रका उम्मेदवार दुई स्थानमा अगाडि छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तीन, स्वतन्त्रले तीन, एकीकृत समाजवादीले दुई र जनमत पार्टीले एक स्थानमा जित निकालेको छ ।

नेपाली कांग्रेसबाट सप्तरी क्षेत्र नं ३ मा दिनेशकुमार यादव, धनुषा क्षेत्र नं २ मा रामकृष्ण यादव, रौतहट ४ मा देवप्रसाद तिमलसेना, पर्सा २ मा अजयकुमार चौरसिया, पर्सा ४ मा रमेश रिजाल, सप्तरी ४ मा तेजुलाल चौधरी र महोत्तरी ४ मा महेन्द्रकुमार राय निर्वाचित भएका छन्। धनुषा ४ मा सहमहामन्त्री महेन्द्र यादव अगाडि हुनुहुन्छ ।

एमालेबाट सिरहा क्षेत्र नं १ मा रामसंकर यादव, धनुषा ३ मा जुली महतो, सर्लाही ३ मा हरिप्रसाद उप्रेती, बारा १ मा अच्युतप्रसाद मैनाली, पर्सा ३ मा राजकुमार गुप्ता, सिरहा निर्वाचन क्षेत्र नं ३ मा लिलानाथ श्रेष्ठ र बारा निर्वाचन क्षेत्र नं ३ मा ज्वालाकुमारी साह निर्वाचित भएका छन्।

जसपाबाट सप्तरी १ मा नबलकिशोर साह, सिरहा ४ मा वीरेन्द्रप्रसाद महतो, पर्सा १ मा प्रदीप यादव, बारा–२ मा रामसहायप्रसाद यादव र सिरहा–२ मा राजकिशोर यादव निर्वाचित भएका छन् । धनुषा १ मा जसपा उम्मेदवार दीपक कार्कीले अग्रता बनाएका छन्।

माओवादी केन्द्रका कुनै पनि उम्मेदवारले अहिलेसम्म जित निकालेका छैनन् तर दुई क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार अगाडि छन् । सर्लाही २ मा महेन्द्रराय यादव र महोत्तरी १ मा गिरिराजमणि पोखरेल अगाडि छन्।

लोसपाबाट महोत्तरी–२ मा शरदसिंह भण्डारी, सर्लाही–१ मा रामप्रकाश चौधरी र महोत्तरी निर्वाचन क्षेत्र नं ३ मा पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन्।

त्यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट अध्यक्ष माधवकुमार नेपाल रौतहट १ र कृष्णकुमार श्रेष्ठ बारा ४ बाट निर्वाचित भएका छन्। यस्तै, जनमत पार्टीबाट अध्यक्ष डा सिके राउत सप्तरी २ बाट निर्वाचित भएृका छन्।

मधेश प्रदेशमा तीन क्षेत्रमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। निर्वाचित हुनेमा सर्लाही निर्वाचन क्षेत्र नं ४ मा अमरेशकुमार सिंह, रौतहट निर्वाचन क्षेत्र नं २ मा किरण कुमार साह र रौतहट निर्वाचन क्षेत्र नं ३ मा प्रभु साह छन्।

निर्वाचन आयोगको तथ्याङ्कअनुसार मधेश प्रदेशका आठ जिल्लामा प्रतिनिधिसभातर्फको ३२ सिटका लागि विभिन्न दलका दुई सय ९३ र स्वतन्त्र दुई ९७ गरी पाँच सय ९० उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति: १०:०३ बजे, शनिबार, मंसिर १०, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्