Kathmandu Press

आम निर्वाचन २०७९ : देउवालाई एकसाथ पाँच सफलता

एउटै निर्वाचन क्षेत्रवाट लगातार सातौंपटक चुनाव जितेर देउवाले नेपालको लोकतन्त्रको इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। नेपाली राजनीतिका अनुभवी र परिपक्व नेताका रूपमा देउवाको कद उच्च भएको छ।
आम निर्वाचन २०७९ : देउवालाई एकसाथ पाँच सफलता
Hardik ivfHardik ivf

आमनिर्वाचन २०७९ को मतगणना जारी छ। मतदान तथा मतपरिणामका विषयमा विभिन्न विश्लेषण भइरहेका छन्। तथ्य–तथ्यांकको लेखाजोखा हुँदैछ। पछिल्लो नतिजाअनुसार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट भारी मतान्तरका साथ विजयी भएका छन्।

एउटै निर्वाचन क्षेत्रवाट लगातार सातौंपटक चुनाव जितेर देउवाले नेपालको लोकतन्त्रको इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। नेपाली राजनीतिका अनुभवी र परिपक्व नेताका रूपमा देउवाको कद उच्च भएको छ। यति मात्र होइन, आमनिर्वाचन २०७९ सम्पन्न भएसँगै देउवाले एकैपटक पाँचवटा सफलता हासिल गरेका छन्। 

१. सातौंपटक संसदमा 

पहिलोपटक २०४८ को संसदीय निर्वाचनमा डडेलधुराबाट निर्वाचित देउवा त्यसपछि मध्यावधि निर्वाचन २०५१ र प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ मा समेत निर्वाचित भए। दुईवटै संविधानसभा सदस्य निर्वाचन २०६४ र २०७० मा पनि देउवा डडेल्धुराबाट निर्वाचित भएका थिए। 

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा पनि डडेलधुराबाट निर्वाचित देउवा सातौंपटक २०७९ को आमनिर्वाचनमा समेत यही क्षेत्रवाट विजयी भएका छन्। यसरी लगातार सातौंपटक एकै निर्वाचन क्षेत्रवाट निर्वाचित हुने एक मात्र नेता देउवा बनेका छन्।

पाँचपटक प्रधानमन्त्री बनिसकेका देउवा सातौंपटक संसदमा प्रवेश गर्दैछन्। यो दुर्लभ इतिहास वास्तवमा विश्वकै लोकतान्त्रिक मुलुकहरूका लागि चर्चा र अध्ययनको विषय बनेको छ। 

२. पहिलो पार्टीका सभापति 

देउवाले कांग्रेसलाई पहिलो पार्टी बनाउने उद्घोषसहित चौधौं महाधिवेशन जितेका थिए। यो वाचा देउवाले पूरा गरेका छन्। स्थानीय सरकारका प्रदेश र संघ तीनवटै स्थानमा कांग्रेस पहिलो पार्टी बन्ने निश्चित छ। दुईपटक लगातार पार्टी सभापतिमा निर्वाचित देउवा नेपालको सबैभन्दा ठुलो दलको नेताको हैसियतमा संसद्मा पुगेका छन्। 

३. गठबन्धनको स्पष्ट बहुमत 

आम निर्वाचन २०७९ का लागि मतदानको मौन अवधि सुरु हुनुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा या म ‘ओली’मध्ये कसलाई प्रधानमन्त्री बनाउने भन्ने निर्णय दिनोस् भनेर आम मतदातासामु भिडियो सन्देश दिएका थिए।

वास्तवमा यो निर्वाचन विभिन्न कालखण्डमा मुलुकको राजनीतिक परिवर्तनको नेतृत्व गरेका कांग्रेस र माओवादी एवं लोकतान्त्रिक आन्दोलनका चर्चित अनुहारहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, महन्थ ठाकुर तथा चित्रबहादुर केसीसम्मका नेताहरूको एउटा ध्रुव र अर्कोतर्फ झन्डै दुई तिहाइको आफ्नै सरकार जोगाउन नसक्ने, पटकपटक संसद् विघटनको प्रयास गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै क्षतविक्षत पारेका केपी ओलीको नेतृत्वमा बनेको गठजोडबीचको जनमतसंग्रह नै थियो। 

एमालेको गठजोडमा हिजोसम्म ओलीलाई प्रतिगमनको मतियार र लोकतन्त्रविरोधी भनेर संसद्देखि सडकसम्म चर्को विरोध गरेका उपेन्द्र यादवदेखि परिवर्तन पटक्कै मन नपराउने पूर्वपञ्च कमल थापा र राजेन्द्र लिङ्देनसम्म समेटिएका थिए। दुई ध्रुवबीचको यो प्रतिस्पर्धामा लोकतान्त्रिक वाम गठबन्धनको नेतृत्व गरिरहेका देउवाको पक्षमा स्पष्ट बहुमत पुग्ने सुनिश्चित भइसकेको छ। यद्यपि गठबन्धनभित्र एकअर्कालाई विश्वासमा लिन नसदा सोचेजति सफलता भने प्राप्त हुन सकेन। 

४. संविधान कार्यान्वयनका सारथि  

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि दोस्रो पटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संविधान कार्यान्वयनको सारथि बन्ने जस देउवाले प्राप्त गरेका छन् । अब संघ र प्रदेशमा नयाँ सरकारहरू गठन हुनेछन्।

६ महिनाअघि देउवा नेतृत्वकै सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न गरेर त्यसमार्फत बनेका स्थानीय सरकारहरूले काम गरिरहेको अवस्था विद्यमान छ। यसले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयनमा महत्वपूर्ण सफलता मिलेको छ। साथमा गणतन्त्र थप संस्थागत भएको छ ।

५. शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न 

आम निर्वाचन २०७९ शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष, स्वतन्त्र तथा धाँधलीरहित ढंगले सम्पन्न भएको छ। परिणाम जस्तोसुकै आए पनि यो आफैंमा लोकतन्त्रको जित हो। यो आम निर्वाचन सम्पन्न गर्ने दुर्लभ अवसर देउवाले प्राप्त गरे र उक्त दायित्व उनले सफल रूपमा निर्वाह गरेका छन्।

गठबन्धन सरकारको नेतृत्व गरेर कठिन मोडमा लोकतन्त्र र संविधान रक्षाको अभिभारा बोकेका देउवा अग्निपरीक्षामा पूर्णतः सफल सारथिका रूपमा दरिएका छन्। पाँच दलीय गठबन्धनको निर्माण गरेर संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन देउवाले प्राप्त गरेको जिम्मेवारी सफलता र कुशलताका साथ पूरा गरे। आफ्नो प्रतिज्ञा र दृढतामा कहीँकतै चुकेनन्।

मतगणनाको नतिजाले आगामी दिनमा संसद्मा ओली, हलो, घन्टीजस्ता प्रतिगमनकारी, पश्चगामी एवं चामत्कारिक राजनीतिका पक्षपोषकहरूको दरिलै उपस्थिति रहने अवस्था देखिएको छ। यो लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रका लागि साँच्चै चुनौती हो। यसलाई संयमसाथ लोकतान्त्रिक वाम गठबन्धनका नेताहरुले आफू सच्चिने तथा संविधानको रक्षा, राजनीतिक स्थायित्व र समृद्धिको लक्ष्य हासिल गर्ने प्रतिबद्धतामा कहिकतै नचुक्ने अवसरको  रूपमा उपयोग गर्न सक्नुपर्छ।

समग्रमा अपेक्षित परिणाम प्राप्त नभए पनि गठबन्धनको पक्षमा बहुमत प्राप्त हुनु गठबन्धनको नेतृत्वदायि भूमिकामा देउवाको अर्को महत्वपूर्ण सफलता मान्न सकिन्छ।

प्रकाशित मिति: १७:२७ बजे, बुधबार, मंसिर ७, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्