Kathmandu Press

डडेल्धुरामा देउवाको विकल्प देउवा नै 

मतको अंकगणितले यसपल्ट नौलो रेकर्डको सम्भावना
डडेल्धुरामा देउवाको विकल्प देउवा नै 
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक २२ : अन्यत्रजस्तै सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा पनि चुनावी माहोल तातिएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला भएका कारण राष्ट्रिय राजनीतिमा डडेल्धुरा सबैका लागि चासोको विषय बनेको छ।

चुनावी माहोल तातिँदै गर्दा प्रधानमन्त्री देउवा यतिबेला डडेल्धुराका गाउँबस्तीमा घरदैलोमा व्यस्त छन्। बृहत् सभालाई सम्बोधनपछि घरदैलो पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गरी पिरमर्का बुझ्ने र विकास निर्माणलगायत जिल्लाका समस्यामा कार्यकर्तासँग बिहानबेलुका छलफल पनि चलि नै रहेको छ। देउवाको मुख्य चासो जनसरोकारका विषयमा केन्द्रित देखिन्छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेल्धुरामा एउटा मात्र निर्वाचन क्षेत्र छ। २०४८ देखि २०७४ सालसम्मका ६ वटा निर्वाचनमा देउवाको सिंहदरबार यात्रालाई डडेल्धुरामा कसैले रोक्न सकेको छैन। निर्वाचन नजिकिँदै गर्दा यतिबेला राजनीतिक वातावरण तात्दैछ।

२०४८, २०५१ र २०५६ को प्रतिनिधिसभा, २०६४ र २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचन गरी यसअघि ६ पल्टसम्मका सबै चुनाव जितेर देउवाले रेकर्ड कायम राख्न सफल भएका छन्। यसपल्टको निर्वाचन देउवाका लागि सातौं हो। सधैं कांग्रेसकै मत जितका लागि पर्याप्त हुने गरेको अवस्थामा यतिबेला झन् सत्ता गठबन्धनका अन्य दलको बल पनि उनलाई मिलेको छ। 

डडेल्धुरामा कांग्रेस २०४८ सालयता सधैं पहिलो शक्तिका रूपमा स्थापित छ। सत्ता गठबन्धनमा सामेल माओवादी केन्द्र दोस्रो शक्ति हो। गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको मतको आकलन गर्दा अघिपछि भन्दा देउवालाई डडेल्धुरामा चुनाव जित्न यसपल्ट निकै सहज देखिन्छ।

अहिले पहिलो र दोस्रो शक्ति मिलेर चुनावमा उत्रेको अवस्थामा निर्वाचन परिणामले देउवाको पल्लाभारी हुने देखिन्छ। डडेल्धुराका पालिकाको निर्वाचनमा कांग्रेस एक्लैको करिब २२ हजार मत ल्याएको छ। माओवादी केन्द्रले करिब १३ हजार मत पाएको छ। 

कांग्रेसले अमरगढी नगरपालिका र पर्शुराम नगरपालिका, गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिकामा जित हासिल गरेको थियो भने गठबन्धनकै माओवादी केन्द्रले अजयमेरू र आलीताल गाउँपालिकामा विजयी भएको थियो। स्थानीय निर्वाचनमा कांग्रेसको कुल मत २१ हजार ७३५, माओवादी केन्द्रको १२ हजार ८७८, नेकपा एमालेले १० हजार ४४९, नेपाल एकीकृत समाजवादीले ५ हजार ४१ र कांग्रेस बिपीले ३ हजार ६०३ मत पाएको छ।

अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारहरूले २ हजार ५४८ मत पाएका छन्। गठबन्धनका यी सबै मत जोड्दा देउवाको पक्षमा ४० हजार कट्ने अवस्था छ। अरू प्रतिस्पर्धी दलको कुल मिलाएर चानचुन १४ हजार मात्र छ। यसैमा पनि प्रमुख प्रतिपक्षी एमालेले डडेल्धुरामा उम्मेदवारी दिएको छैन। यसलाई सत्ता गठबन्धनका साझा उम्मेदवार देउवालाई एमालेले पनि अघोषित रूपमा समर्थन गरेको अर्थमा बुझ्न सकिन्छ। अन्य प्रतिस्पर्धी दलमा उम्मेदवारको किचलोका कारण देउवालाई झन् सहज हुने देखिन्छ। 

सत्ता गठबन्धनबाट डडेल्धुराबाट सुदूरपश्चिम प्रदेशसभा १ मा माओवादी केन्द्रका नेता खगराज भट्ट र २ मा नेपाली कांग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा चुनावी मैदानमा छन्। डडेल्धुराको चुनावमा गठबन्धनका उम्मेदवारको सन्तुलन कायम भएकाले तलमाथि हुने कुनै सम्भावना देखिँदैन। यसरी देउवाको कीर्तिमानी जित हासिल गर्न कठिन छैन। देउवाकै कारण डडेलधुरा कृषिका लागि नमुना जिल्ला बनेको छ। पर्यटकीय स्थलको विकास भएको छ। 

शिक्षा र स्वास्थ्यमा गुणात्मकता हासिल भएको छ। विद्यालय, स्वास्थ्य चौकी, खानेपानी, टेलिफोन र ग्रामीण सडक सञ्जालको भरपुर विकास भएको छ। मेडिकल कलेज स्थापनाको घोषणा भएर प्रक्रिया अगाडि बढिसकेको छ। पश्चिम सेती जलविद्युत् आयोजनाले थप विकासको ढोका खोल्दैछ। 

देउवाको उपस्थितिले २०४६ यता डडेलधुरा मात्र होइन सुदूरपश्चिमकै मुहार फेरिएको छ। यसैमा पनि प्रधानमन्त्री भएका कारण आफ्नै प्रभाव छ। प्रधानमन्त्री भएको व्यक्तिले केही गर्छ भन्ने आशा र भरोसाका कारण गठबन्धनबाहेकका स्वतन्त्र, विपक्षी दलका र ढुलमुले मत पनि बढ्ने सम्भावनालाई नकार्न सकिँदैन। यसरी मुलुककै राजनीतिको उच्च तहमा पुगेका कारण देउवाको व्यक्तित्वले समेत देउवाका अघि अरू प्रतिस्पर्धी फिक्का देखिएका छन्।
 

प्रकाशित मिति: १७:१९ बजे, मंगलबार, कात्तिक २२, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्