Kathmandu Press

डडेल्धुरामा देउवाको स्वागतमा उर्लेको जनसागरबीच सागर

लोकतन्त्रमा सञ्चारमाध्यमहरूले आफ्नो विश्वसनीयता कायम राख्न सस्तो लोकप्रियता र चमत्कारी नेताको खोजीमा हौसिनुभन्दा वस्तुनिष्ठ आधारको खोजी गरी जनतासामु सत्यतथ्य उजागर गर्नुपर्छ।
डडेल्धुरामा देउवाको स्वागतमा उर्लेको जनसागरबीच सागर
Hardik ivfHardik ivf

चुनाव प्रचारका सिलसिलामा गृह जिल्ला डडेलधुरा पुगेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भव्य स्वागत भएको छ। देउवा बिहीबार डडेलधुरा पुग्दा हजारौं सर्वसाधारण उनको स्वागतका लागि प्रतीक्षारत थिए। रोचक त के भने देउवालाई चुनाव हराउँछु भनेर स्थानीय चुनावलगत्तै काठमाडौंका सञ्चारमाध्यममा मज्जैले छाएका सागर ढकालसमेत स्वागतका लागि लामबद्ध थिए। ढकाल माला लिएर देउवाको स्वागतका लागि उभिएको समाचार चौतर्फी चर्चाको विषय बन्यो। 

२०४८ सालदेखि लगातार डडेलधुराबाट चुनाव जित्दै आएका देउवा साताैंपटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा खडा छन्। दुई नगरपालिका तथा पाँच गाउँपालिका रहेको डडेल्धुरा पुगेकै दिन अमरगढीको चुनावी सभालाई सम्बोधन गरेका देउवा त्यसयता आमसभा र भेटघाटमै व्यस्त छन्। हरेक सभामा आम जनमानसको भव्य उपस्थिति र स्वागत पाएका देउवा प्रफुल्ल देखिन्छन्। अमरगढी पुगेलगत्तै देउवाले सामाजिक सञ्जालमार्फत डडेल्धुरावासीको न्यानो स्वागत र मायाका लागि दिएको धन्यवाद यसैको उदाहरण हो। 

डडेल्धुरामा देउवासँग यसपटक कांग्रेस बिपीबाट कर्णबहादुर मल्ल तथा स्वतन्त्रबाट विक्रम शाही, लाल कठायत, कर्णसिंह रावल र सागर ढकालसहितका उम्मेदवार भिड्दैछन्। तर देउवाका अगाडि सबै फिका लाग्छन्। अरूका तुलनामा स्वतन्त्र उम्मेदवारी दिएका गुल्मीका सागर ढकालले भने मिडियामा राम्रै स्थान पाएका छन्, उनले राम्रै चर्चा बटुलेका छन्। 

लोकतान्त्रिक–वाम गठबन्धनका साझा उमेदवार शेरबहादुर देउवाविरुद्ध अर्को गठजोडको नेतृत्व गरिरहेको नेकपा एमालेको त्यहाँ उम्मेदवारसमेत छैन। कहिले कांग्रेस बिपी त कहिले कुन स्वतन्त्र उमेदवारलाई समर्थन गर्दै फेरि कुरा फेर्दै एमाले आफैं अन्योलपूर्ण अवस्थामा देखिन्छ। 

माहोल हेर्दा पाँचपटक लगातार डडेलधुराबाट चुनाव जित्दै आएका देउवाले सातौंपटक अत्यधिक मतान्तरले चुनाव जित्ने निश्चित देखिन्छ। त्यहाँ देउवाको प्रतिस्पर्धी खास को हो भन्ने आकलन अझै हुन सकेको छैन। 

भनिन्छ, उचालेको कुकुरले मृग मार्दैन। पाँच वर्षअघि बिबिसी मिडिया एक्सनको साझा सवाल कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं ?’ भन्दै प्रश्न गरेका सागर ढकाल अहिले देउवाको स्वागतमा उर्लेको जनसागर देखेर छक्क परेका छन्। उनलाई त्यतिबेला देउवाले झोक्किँदै ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भनेर जवाफ फर्काएका थिए। ढकाल बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा पढेर नेपाल फर्किएपछि डडेल्धुरा पुगेर चुनाव प्रचारमा सक्रिय छन्।

गुल्मीका सागरले देउवाको गृह जिल्लामा चुनाव लड्नुको कारण देउवालाई चुनौती दिन सक्छु भन्ने ठानेरै हो भन्ने बुझिन्छ। तर देउवालाई चुनौती दिनु भनेको उनका लागि कुहिनाले पहाड फोर्नु बराबरजस्तै भएको छ। एकथरी भने ढकालले देउवालाई जित्न नसके पनि राष्ट्रिय चर्चा कमाइन्छ भन्ने ठानेको बताउने गर्छन्।

लोकतन्त्रमा कुनै पनि नेताको मूल्यांकन भावावेगबाट प्रभावित नभई गरिनुपर्छ। सिद्धान्त र ती सिद्धान्तलाई व्यवहारमा परिणत गर्न सक्ने सामथ्र्यका आधारमा नेताको भविष्य निर्धारण भएको हुन्छ। कसले कतिपल्ट चुनाव जित्यो या हा¥यो भन्ने कुराको लेखाजोखा पनि यसैभित्र रहेको हुन्छ। 

sher bahadur deuba1667738201.JPG

चमत्कारी नेताहरूको उदय लोकतन्त्रमा सम्भव त छ तर त्यो कुनै जादुगरी शैलीमा होइन। लोकतन्त्रमा सधैं त्यस्तो नेताको खोजी जनताले गरिरहेको हुन्छ जो न धूर्त होस् न त जनतालाई उत्तेजित तुल्याउने भाषण गरेर ढाँटोस्। देउवाले डडेल्धुरामा होस् या कहीँकतै उत्तेजित भाषण गरेको र ढाँटको राजनीति गरेको देखिएको छैन। हो यस्तै नेतालाई विपत्ति र संकटका बेलामा पदग्रहणका लागि आमन्त्रण गरिन्छ। जनताले पटकपटक मतदानमार्फत अनुमोदन गर्छन्।

पाँच दलीय गठबन्धनको निर्माण गरेर संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन देउवाले प्राप्त गरेको जिम्मेवारीमा उनी कहीँकतै चुकेका छैनन्। भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गर्ने कार्यादेश देउवाले पूरा गर्ने नै छन्।

सागर ढकाललाई डडेल्धुरामा महिनौं बसेर देउवा हराउनुपर्छ भन्दै हिँड्ने मात्र होइन, मिडियामा आलोचना गर्ने लोकतान्त्रिक अधिकारसमेत स्वयं देउवाजस्तै नेताहरूको संघर्ष र बलिदानबाट प्राप्त भएको हो। अझै गुल्मीमा जन्मेको एउटा युवालाई डडेल्धुरामै पुगेर चुनावी प्रतिस्पर्धामा उत्रने, मत प्राप्त गर्ने र परिणाम आइसकेपछि मलाई धाँधली गरेर हराए भन्दै हिँड्ने अधिकारसमेत सुरक्षित छ। भलै यस्ता भनाइ हास्यव्यंग्यका कारक किन नबनून्। 

314784815_677223260439508_4246759542146034786_n1667738260.jpg

लोकतन्त्रमा नेताको विशेषता भन्नु नै उसमा रहने सचेतना र सावधानी हो। उसले प्रयोग गर्ने गरेको पदगत अधिकार जतिसुकै ठुलो किन नहोस्, त्यो जनताका बीचबाट नै प्राप्त भएको हो र मूल्यांकनको अन्तिम निर्णयकर्ता पनि जनता नै हुन्।

डडेल्धुरामा देउवाको स्नेह तथा सम्मानमा उर्लेको जनसागर सागर ढकालका लागि लोकतन्त्र पढ्ने र बुझ्ने खुला विश्वविद्यालय मात्र होइन, ‘नो नट एगेन’ भन्दै सामाजिक सञ्जालमा नेता र नेतृत्वप्रति आक्रोश पोख्ने छद्मभेषीहरूका लागि समेत गतिलो झापड हो।

लोकतन्त्रमा जिम्मेवार सञ्चार माध्यमहरूले पनि आफ्नो विश्वसनीयता कायम राख्न सस्तो लोकप्रियता र चमत्कारी नेताको खोजीमा हौसिनुभन्दा वस्तुनिष्ठ आधारको खोजी गरी जनतासामु सत्यतथ्य उजागर गरून् भन्ने अपेक्षा राख्न सकिन्छ। 

प्रकाशित मिति: १८:०६ बजे, आइतबार, कात्तिक २०, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘जब चिनी तीतो हुन्छ’
‘जब चिनी तीतो हुन्छ’