Kathmandu Press

कोभिड महामारीमा प्लास्टिकजन्य फोहोर उत्सर्जन गर्नेमा एसियाली मुलुक अगाडि

कोभिड-१९ महामारीका कारण विश्वभर ८० लाख टनभन्दा बढी प्लास्टिकजन्य फोहोर उत्पन्न भएको एक अध्ययनले देखाएको छ। त्यसमध्ये २५ हजार टन फोहोर समुद्रमा फालिएको पाइएको छ।
कोभिड महामारीमा प्लास्टिकजन्य फोहोर उत्सर्जन गर्नेमा एसियाली मुलुक अगाडि

लसएन्जलस, कात्तिक २५ : कोभिड-१९ महामारीका कारण विश्वभर ८० लाख टनभन्दा बढी प्लास्टिकजन्य फोहोर उत्पन्न भएको एक अध्ययनले देखाएको छ। त्यसमध्ये २५ हजार टन फोहोर समुद्रमा फालिएको पाइएको छ।

नेसनल एकेडेमी अफ साइन्सेसको जर्नलमा प्रकाशित शोधपत्रका अनुसार समुद्रमा पुगेको प्लास्टिकजन्य फोहोरको उल्लेख्य मात्रा तीनदेखि चार वर्षमा समुद्री तट वा किनारमा फिर्ता आउनेछ। बाँकी केही मात्राको फोहोर खुला समुद्रमै रहेर केही समयपछि समुदीको गहिराइमा जम्नेछ र उत्तर ध्रुवीय महासागरमा जम्मा हुनेछ।

शोधकर्ताहरूका अनुसार कोभिड–१९ महामारीका दौरान मास्क, पञ्जा, फेससिल्डलगायत एकपटक मात्र प्रयोग गरिने प्लास्टिकजन्य उत्पादन र प्रयोगमा वृद्धि आएको थियो। त्यसबाट पहिल्यै नियन्त्रणबाहिर रहेको प्लास्टिकजन्य फोहोरको समस्यालाई थप विकराल बनाएको छ।

चीनको नान्जिङ विश्वविद्यालय र सान्डिएगोस्थित क्यालिफोर्निया विश्वविद्यालयका खोजकर्ताले नेतृत्व गरेको सो अध्ययनले महामारीले बढाएको प्लास्टिक प्रयोग र त्यसको असर मापन गर्ने नवीन अध्ययन मोडल प्रयोग गरेको थियो।

उनीहरूले सन् २०२० मा महामारी सुरु भएदेखि अगस्ट २०२१ सम्मको तथ्यांक अध्ययन तथा विश्लेषण गरेका थिए। सबैभन्दा धेरै प्लास्टिकजन्य फोहोर गर्नेमा एसिया महादेश अगाडि रहेको पाइएको छ । अस्पतालहरूबाट त्यस्तो फोहोर बढी निस्किएको समेत पाइएको छ।

यो अध्ययनले विकासोन्मुख राष्ट्रहरूले मेडिकल फोहोरको उचित व्यवस्थापन गर्न विशेष पहल गर्नुपर्नेमा जोड दिएको छ।

‘अध्ययनका क्रममा व्यक्तिको नियमित प्रयोगभन्दा मेडिकल फोहोरको मात्रा बढी पाउँदा हामी आश्चर्यचकित भएका थियौँ। त्यसमध्ये सबैभन्दा बढी एसियाली मुलुकबाट त्यस्तो फोहोर आइरहेको थियो । जब कि, कोभिड–१९ महामारीले सबैभन्दा बढी प्रभाव पारेका मुलुकहरू त्यहाँ पर्दैनन्,’ क्यालिफोर्निया विश्वविद्यालयकी सहायक प्राध्यापक तथा सो खोजपत्रकी सहायक लेखक अमिना सार्टपले भनिन्।

उनीहरूले खोला तथा नदीको माध्यमबाट प्लास्टिकजन्य फोहोरहरू समुद्रमा पुगिरहेको पनि पत्ता लगाएका छन्। कुल प्लास्टिकजन्य फोहोरको ७३ प्रतिशत एसियाका नदीबाट समुद्र पुगिरहेको छ, जहाँबाट त्यो फोहोर पर्सियाको खाडी, अरेबियन सागर र पूर्वी चीन समुद्रमा पुगिरहेको छ।

कोभिड–१९ का कारण प्रयोग भएका अधिकांश प्लास्टिकजन्य फोहोरहरू समयसँगै समुद्रका बगर तथा किनारमा तैरिँदै फर्किने अनुमान गरिएको छ भने बाँकी फोहोर उत्तरध्रुवीय महासागरमा पुग्नेछ।

प्रकाशित मिति: ०६:४० बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्